विपद्मा पर्यटन क्षेत्रको साथ : याक एण्ड यतीले दियो १ करोड १ लाख ११ हजार
काठमाडौँ — प्राकृतिक विपत्तिमा पर्यटन व्यवसायको सामाजिक जिम्मेवारीलाई समेत जोड दिँदै पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
पर्यटन उद्योग केवल सेवा र व्यवसायमा सीमित नरही संकटका बेला समुदायसँग जोडिनुपर्ने मान्यतालाई आत्मसात् गर्दै होटलले उक्त सहयोग गरेको जनाएको छ। विपद्का कारण प्रभावित परिवारको तत्काल उद्धार तथा राहतसँगै पुनर्स्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको हो।
होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो।
होटल व्यवसायी सर्राफ याक एण्ड यतीसँगै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडअन्तर्गतको हायात रिजेन्सी काठमाडौंका समेत सञ्चालक हुन्। पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय सर्राफले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
उनले अहिलेको सहयोगले प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
विपद्का बेला पर्यटन व्यवसायी तथा होटल क्षेत्रबाट हुने यस्ता सहयोगले निजी क्षेत्रको सामाजिक भूमिकासँगै पर्यटन उद्योग र स्थानीय समुदायबीचको सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।
