बाढीपीडितलाई प्रधानमन्त्रीको भरोसा : ‘सरकार छ, एक्लो महसुस नगर्नुस्’
काठमाडौं — बाढीपहिरोबाट घरबार र आफन्त गुमाएका नागरिकलाई प्रधानमन्त्री बालेन शाहले सरकारले संकटको घडीमा साथ नछाड्ने बताएका छन्। उनले प्रभावित नागरिकलाई आफूलाई एक्लो नठान्न आग्रह गर्दै सुरक्षित पुनःस्थापनाको प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले अहिले अस्थायी शिविरमा राखिएका बाढीपीडितलाई राहत, स्वास्थ्य सेवा तथा आवश्यक आधारभूत सुविधा उपलब्ध गराइएको बताए।
उनका अनुसार प्रभावितको अस्थायी बसाइलाई सकेसम्म छोटो पारेर सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था मिलाउने सरकारको तयारी छ।
प्रधानमन्त्री शाहले बाढीमा आफन्त, घर, खेतबारी तथा सम्पत्ति गुमाएका नागरिकको पीडा र आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। एकैपटक ठूलो क्षति व्यहोरेका नागरिकको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्नुपर्ने उनको भनाइ छ।
‘एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोशभन्दा बढी त्यो पीडा व्यक्त गर्ने माध्यम हो,’ उनले भनेका छन्।
बाढी प्रभावितमाथि थप पीडा हुने गरी अनावश्यक टिप्पणी तथा अपमानजनक व्यवहार गर्नेप्रति भने सरकारले कडा कदम चाल्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन्।
यसैबीच, बेत्रावतीमा १० दिनपछि ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले विपद्मा खोज तथा उद्धार कार्य अझै जारी रहेको सन्देश दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। उनका अनुसार सुरक्षा निकायका टोलीहरू जोखिमपूर्ण क्षेत्रमा समेत खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन्।
प्रधानमन्त्रीले बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको अवस्थालाई समेत विशेष प्राथमिकतामा राखिएको बताएका छन्। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा क्षति पुगेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई वैकल्पिक आश्रयस्थलमा सारिएको र उनीहरूलाई ह्वीलचेयर, वाकर, स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिएका छन्।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद्का कारण अभिभावक गुमाएका परिवारको पीडाप्रति सरकार गम्भीर रहेको बताएका छन्।
उनले प्रभावित नागरिकलाई धैर्य राख्न आग्रह गर्दै भनेका छन्, ‘हामीमाथि भरोसा राख्नुहोस्।’
