कृष्णभीरमा सडक खोल्दा माथिल्लो पाखा चिरियो, धाँजामा पानी पस्न नदिन ‘सिट पाइलिङ’
हेटौंडा । त्रिशूली नदीको कटानपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णभीरमा वैकल्पिक सडक निर्माण भइरहेका बेला माथिल्लो पाखामा धाँजा देखिएपछि पहिरोको जोखिम बढेको छ। जोखिम कम गर्न सडक विभागले धाँजा परेको क्षेत्रमा पानी पस्न नदिन ‘सिट पाइलिङ’को काम थालेको छ।
मुग्लिन–नागढुंगा सडकखण्ड तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले कृष्णभीरमा डाँडा काटेर करिब २६० मिटर लामो वैकल्पिक ट्रयाक निर्माण भइरहेको छ। सडक विभागका अनुसार अहिले एकतर्फी ट्रयाक खोलिएको छ भने त्यसलाई विस्तार गरेर करिब आठ मिटर चौडा दुई लेनको सडक बनाउने तयारी छ।
तर, सडक खन्ने क्रममा निर्माणस्थलभन्दा करिब १५ देखि २० मिटर माथिल्लो पाखामा जमिन चिरिएको भेटिएको हो। त्यहाँ १० देखि १५ मिटर लम्बाइका ६–७ वटा धाँजा देखिएका छन्। केही धाँजा एक फिटभन्दा बढी चौडा रहेको बताइएको छ।
सडक विभागका सिनियर डिभिजन इञ्जिनियर सुरेश पौडेलका अनुसार कृष्णभीरको भूगर्भीय संरचना नै कमजोर भएकाले सडक निर्माणका क्रममा जमिन चिरिनु अस्वाभाविक होइन।
‘विगतमा ठूलो पहिरो गएर गेग्रान थुप्रिएको क्षेत्रमा अहिले काम भइरहेको छ। त्यसैले यहाँको भूसतह कमजोर छ,’ पौडेलले भने, ‘मेसिन प्रयोग गरेर कमजोर भूभाग खन्दा धाँजा देखिन सक्छ। तर पहिरोको जोखिम कम गर्न धाँजामा पानी पस्न नदिन सिट पाइलिङ गरिरहेका छौँ।’
उनका अनुसार धाँजा सडक निर्माण भइरहेको स्थानभन्दा माथिल्लो भागमा देखिएका हुन्। पहिरो खस्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक परे तत्काल सडकमा खसेको माटो तथा ढुंगा हटाएर यातायात सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
‘पहिरो आइहाले पनि तत्काल हटाएर सवारी चलाउने गरी उपकरण तयारी अवस्थामा राखिन्छन्,’ पौडेलले बताए, ‘तर त्यस्तो अवस्था नै नआओस् भनेर अहिलेबाटै रोकथामका उपाय अपनाइरहेका छौँ।’
विभागले सडक खन्न अझै चार–पाँच दिन लाग्ने अनुमान गरेको छ। ट्रयाक निर्माण पूरा भएपछि धाँजा परेको भागलाई सिल गर्ने तथा थप सुरक्षात्मक उपाय अपनाउने तयारी छ। भदौ मसान्तसम्म डाइभर्सन निर्माण सकेर यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको विभागले जनाएको छ।
नदी कटानपछि राजमार्ग अवरुद्ध
त्रिशूली नदीले सडकको ठूलो हिस्सा कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। नदीको कटान रोक्न निर्माण गरिएको करिब सय मिटर लामो पर्खाल भत्किएपछि राजमार्गको ठूलो भाग नदीमा बगेको थियो।
यसपछि सडक विभागले मुग्लिन–नागढुंगा सडकखण्डलाई तत्काल सञ्चालनमा ल्याउन कृष्णभीरमा वैकल्पिक ट्रयाक निर्माण थालेको हो।
कृष्णभीरमा पहिरोको जोखिम भने नयाँ होइन। विगतमा पनि यस क्षेत्रमा ठूलो पहिरो गएर लामो समयसम्म सडक यातायात प्रभावित भएको थियो। करिब तीन दशकअघि मलेखु–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याउँदा कृष्णभीरसमेत प्रभावित भएको थियो।
यसपटक भने पहिरोले राजमार्ग बगाएको नभई त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि वैकल्पिक सडक निर्माण गर्नुपरेको हो।
