भोटेकोशीको बाढीपछि त्रिशूली किनारमा बढ्यो त्रास, ‘पानी पर्नासाथ घर छोड्नुपर्ने हो कि भन्ने डर’
चितवन — भोटेकोशीमा आएको विनाशकारी बाढीको असर बाढी प्रभावित क्षेत्रमै मात्र सीमित छैन। त्रिशूली नदी किनारमा बसोबास गर्दै आएका परिवार र व्यवसायीहरू पनि अहिले वर्षा र नदीको बहाव बढ्नेबित्तिकै त्रसित हुन थालेका छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि त्रिशूली किनारका बासिन्दामा नदीको जोखिमप्रतिको चिन्ता झन् बढेको हो। सामान्य वर्षामा खासै वास्ता नगर्नेहरू अहिले आकाशमा बादल लाग्दा र नदी सुसाउँदा समेत सम्भावित विपत्तिको कल्पना गर्न थालेका छन्।
इच्छाकामना गाउँपालिका–५, त्रिशूली किनारमा विगत ४५ वर्षदेखि बस्दै आएकी सानी गौचनका लागि भोटेकोशीको बाढीको दृश्य अझै ताजा छ। जीवनमा धेरैपटक बाढी देखे पनि यसपटकजस्तो विनाशकारी बाढी उनले कहिल्यै नदेखेको बताउँछिन्।
‘बाढी देखेका थियौँ, तर यस्तो विनाशकारी देखेका थिएनौँ,’ उनी भन्छिन्, ‘त्यो दिन सम्झँदा अझै मनमा अत्यास लाग्छ। पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो कि भन्ने डरले सताउँछ।’
रात पर्दा झन् बढ्छ चिन्ता
मुग्लिन बजारमा करिब ४५ वर्षदेखि ‘आमा होटल’ सञ्चालन गर्दै आएकी कोपिला गौचनले पनि बाढीपछि आफ्नो दैनिकी नै बदलिएको बताइन्। वर्षा सुरु हुनेबित्तिकै कामदार र आफूवरपरका मानिसको सुरक्षाप्रति बढी सतर्क हुन थालेकी छन्।
भदौ १० पछि उनको फोनसमेत सहजै बन्द गर्न मन लाग्दैन। राति सुत्दा पनि कतै बाढीको सूचना आउने हो कि भन्ने चिन्ताले सताउने गरेको उनी बताउँछिन्।
‘कतै फोन गरेर घर छोड, बाढी आउँदै छ भन्ने सूचना आउँछ कि भन्ने डर हुन्छ,’ उनले भनिन्।
उनका अनुसार त्रिशूलीको पानीको आवाज मात्र सुन्दा पनि अहिले मनमा डर पैदा हुन्छ। पुर्ख्यौली थलो र व्यवसाय छाडेर अन्यत्र जाने अवस्था पनि छैन, तर आफूहरू सुरक्षित रहेको अनुभूति पनि हुन सकेको छैन।
पानीको आवाजले सामानतिर ध्यान जान्छ
स्याङ्जालाई स्थायी ठेगाना बनाएका सेख अलाउदीन मिया विगत ३२ वर्षदेखि मुग्लिन आसपास व्यवसाय गर्दै आएका छन्। तर भोटेकोशीको बाढीपछि नदीमा पानीको बहाव बढ्न थालेपछि उनको ध्यान व्यवसायभन्दा पहिले आफ्ना सामान सुरक्षित छन् कि छैनन् भन्नेतर्फ जान थालेको छ।
नदीमा पानी बढ्दा पहिले खासै चिन्ता नलिने उनी अहिले वर्षा र खोलाको आवाजसँगै सम्भावित जोखिमबारे सोच्न थाल्छन्। नुवाकोटमा रहेकी छोरीसँग सम्पर्क हुन नसक्दा बाढीमा आफू पनि त्यस्तै अवस्थामा पर्ने हो कि भन्ने डर थपिएको उनको भनाइ छ।
‘भदौ १० गतेको बाढीपछि रातमा राम्रोसँग निद्रा लाग्न छाडेको छ,’ उनले सुनाए।
सानो बालबालिकासहित नदी किनारमा बस्नुपर्ने बाध्यता र अचानक आउन सक्ने बाढीका कारण व्यवसाय सञ्चालनमा समेत जोखिम बढेको उनी बताउँछन्।
व्यवसाय छाड्ने कि निरन्तरता दिने?
त्रिशूलीमा र्याफ्टिङ गर्न आउने पर्यटकलाई खाना तथा खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ पनि अहिले दोधारमा छन्। बाढीपछि केही सहकर्मीले व्यवसाय छाडिसकेका छन्। आफूले पनि व्यवसायलाई निरन्तरता दिने कि अन्यत्र जाने भन्नेबारे सोच्न थालेको उनी बताउँछन्।
‘बाढीसँग डर होइन, विनाशकारी बाढीसँग अझै हामीलाई डर छ,’ उनले भने।
पृथ्वी राजमार्गअन्तर्गत विनय गेस्ट हाउस तथा खाजा घर सञ्चालन गर्दै आएका श्रेष्ठका अनुसार वर्षा सुरु भएपछि व्यवसायी मात्र होइन, नदी किनारमा बस्ने सबैको त्रास बढ्ने गरेको छ।
पुराना बस्ती, नयाँ जोखिम
त्रिशूली नदी रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाट पुग्छ र त्यहाँ कालीगण्डकीसँग मिसिएपछि नारायणीका रूपमा अघि बढ्छ। नदी गहिरो भए पनि यसको दुवै किनारमा लामो समयदेखि मानव बस्ती, बजार र व्यापारिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
विगतमा पनि त्रिशूलीमा बाढी आउने गरेको थियो। तर भदौ १० गतेको भोटेकोशी बाढीले पुर्याएको ठूलो क्षतिले नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे थप सचेत बनाएको छ।
प्रत्यक्ष क्षति नभोगेका बस्ती र बजार क्षेत्रका मानिससमेत अहिले ‘अर्कोपटक के हुन्छ?’ भन्ने प्रश्नमा छन्। उनीहरूको चिन्ता घर र व्यवसाय जोगाउने विषयमा मात्र सीमित छैन; आकस्मिक बाढी आएमा सुरक्षित स्थानमा कसरी पुग्ने र समयमै सूचना कसरी पाउने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ।
भोटेकोशीको बाढीले एउटा कुरा भने स्पष्ट पारेको छ—नदी किनारमा वर्षौंदेखि बस्दै आएका मानिसका लागि बाढी अब केवल मौसमी समस्या होइन, कुनै पनि बेला जीवन, घर र रोजगारीमाथि आइपर्न सक्ने जोखिम बनेको छ।
