नेपाललाई विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउन लगानी र पूर्वाधार विकासमा जोड
काठमाडौं । नेपाललाई विश्वकै प्रमुख ‘आरोग्य गन्तव्य’का रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी, पूर्वाधार निर्माण, गुणस्तर वृद्धि, वैदेशिक लगानी र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
विश्व पर्यटन सञ्जाल र टुरिजम् इन्फो नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा आयोजित वेलनेस नेपाल इन्भेस्टमेन्ट समिट २०२६ मा वक्ताहरूले नेपालको हिमालय, प्राकृतिक सम्पदा, आयुर्वेद, योग, ध्यान तथा सांस्कृतिक मौलिकतालाई एकीकृत गरी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।
नेपाल सरकारले ‘राष्ट्रिय वेलनेस पर्यटन रणनीति (२०२६–२०३५)’ पारित गर्दै सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’का रूपमा मनाउने घोषणा गरिसकेको छ । कार्यक्रममा बोल्दै रक्षा सचिव इन्दु घिमिरेले आरोग्य पर्यटन रणनीतिले गन्तव्यको प्रतिस्पर्धात्मकता, गुणस्तर तथा मापदण्ड, मानव संसाधन विकास र बजार प्रवर्द्धनसहित पाँच मुख्य लक्ष्य तथा ३७ रणनीति अघि सारेको जानकारी गराएकी हुन् ।
त्यसैगरी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले वेलनेस पर्यटनमा वैदेशिक लगानी भित्र्याउन आवश्यक सहजीकरण गर्न बोर्ड तयार रहेको बताएकी छन् । उनले जग्गा, सडक तथा अन्य कानुनी प्रक्रियासँग सम्बन्धित अवरोध समाधान गर्न सहजीकरण गरिने उल्लेख गर्दै उनले निजी क्षेत्रबाट लगानीयोग्य र व्यावसायिक रूपमा स्पष्ट परियोजना आवश्यक रहेको बताएकी छन् ।
नेपाल पर्यटन बोर्डका पूर्व सीईओ तथा विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य दीपकराज जोशीले वेलनेस पर्यटनको सम्भावना ठूलो भए पनि यस क्षेत्रमा पर्याप्त लगानी र पूर्वाधार विकास हुन नसकेको बताए । नेपालको अद्वितिय सम्भावनालाई व्यावसायिक गन्तव्यमा रूपान्तरण गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो।
विश्व पर्यटन सञ्जालका अध्यक्ष जुर्गेन स्टाइनमेत्जले वेलनेस पर्यटकहरू सामान्य पर्यटकको तुलनामा लामो समय बस्ने र बढी खर्च गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले मूल्यमा प्रतिस्पर्धा गर्नुभन्दा मौलिक र प्रामाणिक अनुभवमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
वेलनेस पर्यटनको विस्तारसँगै दक्ष जनशक्ति उत्पादनलाई पनि प्राथमिकतामा राखिएको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)का कार्यकारी निर्देशक डा. दिव्यराज पोखरेलले बताए । उनले योग, आयुर्वेद र अध्यात्मसँग सम्बन्धित विषय समेटिएका स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी गराएका छन् ।
कार्यक्रमका क्रममा भएको सामुहिक छलफलका क्रममा काव्या रिसोर्ट एण्डा स्पाका संस्थापक तथा प्रबन्ध निर्देशक हितेश गोल्छा, दुषित थानी धुलिखेलका प्रबन्ध निर्देशक रमेश हमाल र पार्क भिलेज रिसोर्टका कार्यकारी निर्देशक अमृताञ्जली शाक्यले नेपाल सरकारले लगानीको वातावरण सिर्जना गर्न झन्झटिलो कानुनी प्रक्रियालाई सहजीकरण र निश्चित अवधिका लागि केही प्याकेजहरु ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रमको समापन गर्दै टुरिजम् इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारीले यस कार्यक्रमले नेपालमा आरोग्य पर्यटनमा विदेशी लगानी भित्र्याउन सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याएका छन् ।
