रसुवा बाढीपछि मुस्ताङको पर्यटनमा असर, भदौमा २९ हजारभन्दा बढी पर्यटक घटे
मुस्ताङ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीको असर मुस्ताङको पर्यटन क्षेत्रमा पनि देखिएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा मुस्ताङ आउने पर्यटकको संख्या झण्डै आधाले घटेको छ।
साउनमा ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेकामा भदौमा यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको हो। अर्थात् एक महिनामै २९ हजार २७४ पर्यटक कम आएका छन्। यो साउनको तुलनामा ४७.७८ प्रतिशतको गिरावट हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमास्थित घाँसा प्रहरी चौकीको विवरणअनुसार साउनमा ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका र १९३ अन्य देशका पर्यटक मुस्ताङ पुगेका थिए।
भदौमा भने आन्तरिक पर्यटकको संख्या १६ हजार ५०३ र सार्क मुलुकका पर्यटक १५ हजार १३८ मा झरेका छन्। अन्य मुलुकबाट आउने पर्यटक भने बढेर ३४८ पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशतले घटेका छन्। त्यस्तै सार्क मुलुकका पर्यटक १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले कम भएका छन्।
यसको विपरीत अन्य मुलुकबाट आउने पर्यटकको संख्या भने १५५ ले बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा ३४८ पुगेका हुन्।
दुई महिनामा ९३ हजार पर्यटक
चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। यसमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ अन्य मुलुकका पर्यटक रहेको प्रहरीको तथ्यांक छ।
प्रहरी निरीक्षक बस्यालले रसुवाको बाढीपछि उत्पन्न परिस्थितिका कारण पनि भदौमा मुस्ताङ आउने पर्यटकको संख्या घटेको हुनसक्ने बताए। उनका अनुसार उक्त घटनापछि देशभर शोकको वातावरण रहेकाले पर्यटकीय भ्रमण प्रभावित भएको हुनसक्ने देखिन्छ।
यद्यपि, गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु वर्षको साउन र भदौमा मुस्ताङ आउने पर्यटकको समग्र संख्या भने बढी छ। गत आव २०८२/८३ मा साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।
यस वर्षको तथ्यांकले समग्र पर्यटक आगमनमा वृद्धि देखाए पनि साउनबाट भदौमा प्रवेश गर्दा भने मुस्ताङको पर्यटन गतिविधिमा उल्लेख्य गिरावट आएको देखाएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा वर्षायाममा बाढी, पहिरो र नदी कटानका कारण पटकपटक अवरोध सिर्जना भए पनि साउनमा पर्यटक आगमन उल्लेख्य रहेको थियो। तर भदौमा भने पर्यटकको संख्या ठूलो मात्रामा घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
