‘बाढी आउँदैछ’ भन्ने खबर पाए, तर जोखिमको अनुमान गर्न सकेनन्
नुवाकोट — भोटेकोसीमा ठूलो बाढी आएको खबर समयमै पाए पनि त्यसको वास्तविक जोखिम अनुमान गर्न नसक्दा नदी किनारका बासिन्दाले ठूलो क्षति व्यहोर्नुपरेको छ। बाढीको सूचना पाएपछि पनि कतिपय व्यक्ति अवस्था बुझ्न नदीतर्फ पुगे भने कतिपयले सुरक्षित स्थानमा जाने समय नै पाएनन्।
विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेलले भदौ १० गते बिहानै भोटेकोसीमा ठूलो बाढी आएको सूचना पाएका थिए। प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरे पनि उनले आफ्नो बस्तीमा त्यति ठूलो भेल आइपुग्ला भन्ने कल्पना गरेका थिएनन्।
केही समयमै त्रिशूली नदीको बहाव अस्वाभाविक रूपमा बढ्यो। बाढीले उनको घरलाई चारैतिरबाट घेरेपछि परिवारका पाँच सदस्य र एक छिमेकीसहित छ जनालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।
‘सूचना आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन। बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन,’ प्याकुरेलले बताए।
बाढी हेर्न नदीतिर जाँदा आफैँ परे
विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि ठूलो बाढी आउन लागेको खबर पाएका थिए। प्रहरी चौकीबाट समेत सुरक्षित स्थानमा जान माइकिङ गरिएको थियो।
तर, अरूलाई पसल बन्द गरेर सुरक्षित हुन आग्रह गरेका डङ्गोल आफैँ बाढीको अवस्था हेर्न नदीतर्फ गए। नदी नजिक पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्यो।
‘बाढी हेर्न नदीतर्फ जाँदै थिएँ। एक्कासि चारैतिरबाट भेल आयो। केही सेकेन्डले ज्यान बच्यो,’ उनले भने।
बाढीमा परेर उनको खुट्टाको मांसपेशीमा चोट लागेको छ। तर, आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई अझै सताइरहेको छ।
‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कति ठूलो भन्ने थाहा थिएन,’ डङ्गोलले भने।
अरूलाई खबर गर्दा आफ्नै परिवार गुमाए
रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको कथा अझ पीडादायी छ। भूकम्पपछि विस्थापित भएर त्रिशूली किनारको खाल्डेमा बस्दै आएका उनी भोटेकोसीमा बाढी आएको खबर पाएपछि आसपासका बस्तीका मानिसलाई सचेत गराउन दौडिएका थिए।
खाल्डे र नजिकैको सातबिसेमा रहेका २५० भन्दा बढी परिवारलाई खबर पुर्याउने प्रयास गर्दागर्दै केही मिनेटमै बाढी बस्तीमा आइपुग्यो।
तामाङले भागेर ज्यान जोगाए, तर उनका बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्यलाई गुमाउनुपर्यो। उक्त बस्तीका एक सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ।
‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो। तर कति ठूलो हो भन्ने अनुमान भएन। अघिल्लो वर्षजस्तै होला भन्ने लाग्यो। सास फेर्न नपाउँदै बाढीले छोप्यो,’ उनले सुनाए।
सूचना पुग्यो, जोखिमको आकार बुझिएन
भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा तीव्र गतिमा फैलिएको थियो। बाढीको खबर नदी किनारका बस्तीमा पुगे पनि त्यसले निम्त्याउन सक्ने क्षतिको स्तर धेरैले अनुमान गर्न सकेनन्।
टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाट आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको थियो।
विदुर–१ का विष्णु श्रेष्ठका अनुसार उनका हजुरबुबाले २०१८ सालतिर त्रिशूलीमा ठूलो बाढी आएको सुनाउने गरेका थिए। तर, त्यतिबेलाको अनुभवभन्दा यसपटकको क्षति निकै ठूलो भएको उनले बताए।
उनको त्रिशूलीबाट करिब ३०० मिटर दूरीमा रहेको चार रोपनी धानखेतसमेत बाढीले बगरमा परिणत गरिदिएको छ।
पूर्वसूचना मात्र होइन, त्यसको अर्थ बुझ्नु पनि आवश्यक
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको थियो।
‘सफा मौसम र घाम लागिरहेको अवस्थामा ठूलो बाढी आउँदैछ भन्ने सूचना दिँदा धेरैले त्यसलाई पत्याउन र त्यसको गम्भीरता बुझ्न सकेनन्,’ उनले भने।
विपद्का बेला सूचना कति छिटो पुग्यो भन्ने मात्र नभई प्राप्त सूचनाअनुसार मानिस कति चाँडो सुरक्षित स्थानमा पुगे भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।
भोटेकोसी–त्रिशूली बाढीको घटनाले पूर्वसूचना प्रणाली प्रभावकारी हुनुका साथै जोखिमको स्तर स्पष्ट रूपमा बुझाउने र सूचना पाएलगत्तै सुरक्षित स्थानमा पुग्ने व्यवहार पनि आवश्यक रहेको देखाएको छ।
