त्रिपुरेश्वर बस आगजनीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगजनी भएको घटनाको विस्तृत अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
कार्यालयका एसएसपी रमेशकुमार बस्नेतको संयोजकत्वमा गठित समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रतिनिधि छन्।
ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगो लगाएको घटनाको वास्तविक कारण र घटनाक्रमबारे समितिले अनुसन्धान गर्नेछ। समितिले सोमबारदेखि नै काम सुरु गरिसकेको डिआइजी गोविन्द थपलियाले जानकारी दिएका छन्।
घटनाअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा चालकले आफूलाई गल्तीबिना चिट काट्न खोजिएको भन्दै ट्राफिक प्रहरीसँग असन्तुष्टि जनाएका छन्।
विवाद चर्किएपछि चालकले त्रिपुरेश्वरको सडकबीच बस रोकेका थिए। पछि यात्रुहरूलाई बसबाट ओरालेपछि यात्रु नभएको अवस्थामा बसमा आगो लगाइएको प्रहरीले जनाएको छ।
आगो लगाउने क्रममा चालक लामा स्वयं पनि घाइते भएका थिए। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
