चितवनमा २२२ मिलिमिटरभन्दा बढी वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी
काठमाडौं । पछिल्लो २४ घण्टामा चितवनसहित देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्यानपुरस्थित वर्षा मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
चितवनकै मेघौलीमा २०२.८ मिलिमिटर तथा तनहुँको अत्रौउलीटारमा २०२.२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। नवलपरासीको बर्दघाटमा पनि २०७ मिलिमिटर वर्षा भएको छ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई मौसम विज्ञानमा ‘अति भारी वर्षा’ मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।
विभागका अनुसार पछिल्लो अवधिमा मधेश प्रदेशसँगै गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका अधिकांश स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ।
यसैबीच, आजदेखि मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा आकाश क्रमशः खुल्दै जानेछ भने काठमाडौं उपत्यकाको मौसममा पनि उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ।
