हिमलुङ हिमपहिरोमा १४ जना अझै बेपत्ता, दुई गाइडको शव भेटियो
काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ । हिमपहिरोमा हराएका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइडको शव फेला परेको छ ।
एसोसिएसनका अनुसार हिमपहिरोमा १४ जना किचेन स्टाफ र दुई जना पर्वतारोहण गाइड परेका थिए । उनीहरू विभिन्न कम्पनीमार्फत हिमलुङ क्षेत्रमा पुगेका थिए ।
दुई पर्वतारोहण गाइड मृत अवस्थामा फेला परे पनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनको उद्धार टोली प्रभु हेलिकप्टरमार्फत हिमपहिरो प्रभावित क्षेत्रमा पुगेको छ । उद्धारमा मिङ्मा जी, पासाङकाजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पा सहभागी छन् । थप चार जना उद्धारकर्मीलाई समेत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको जनाइएको छ ।
बेपत्ता भएकाहरूको अवस्था पत्ता लगाउन उद्धार टोलीले घटनास्थलमा खोजी तीव्र बनाएको छ ।
