नारायणीको बाढीले बगायो किनार सजाउने योजना
चितवन । भरतपुरको नारायणगढ बजारसँगै जोडिएको नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पटक–पटक नदीको बाढीले प्रभावित हुँदै आएको छ। पछिल्लो पटक आएको ठूलो बाढीले नदी किनारमा निर्माण गरिएका अधिकांश संरचना बगाएपछि महानगरको योजना फेरि चुनौतीमा परेको छ।
नारायणी किनारमा पैदलमार्ग, हरियाली, बगैँचा, मोजाइक टायल तथा आरसिसी संरचना निर्माण गरेर आकर्षक बनाइएको थियो। साँझबिहान घुम्ने, चिसो हावाको आनन्द लिने तथा विभिन्न कार्यक्रम आयोजना गर्ने प्रमुख स्थलका रूपमा पनि यो क्षेत्र विकास हुँदै गएको थियो।
भरतपुर महानगरपालिकाले संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा नदी किनारलाई ‘सिबिच’ अर्थात् समुद्री किनारको शैलीमा विकास गर्ने योजना अघि बढाएको थियो। तर हरेक वर्ष दोहोरिने बाढी र नदी कटानले निर्माण गरिएका संरचना टिकाउन कठिन भएको महानगरका अधिकारीहरू बताउँछन्।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नदी किनारलाई व्यवस्थित र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना भए पनि बाढीका कारण संरचना जोगाउन समस्या भएको छ। गत वर्ष धेरै संरचना बगेका थिए भने पछिल्लो बाढीले बाँकी रहेका अधिकांश संरचना पनि बगाएको छ।
करोडौँको संरचना नदीमा
नारायणी किनारमा विभिन्न सरकारी तथा निजी क्षेत्रको लगानीमा संरचना निर्माण गरिएको थियो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले करिब २.४ किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँको काम गरेको थियो।
भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले पनि सहकार्य गरेर करिब ९७ लाख रुपैयाँ खर्च गरी पैदलमार्ग निर्माण गरेका थिए।
त्यस्तै, नारायणी नदी व्यवस्थापन आयोजनाले ११ वटा खुड्किलासहित ६५० मिटर लामो आरसिसी संरचना निर्माण गरेको थियो। २०७९ सालमा करिब १५ करोड ९२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त संरचना अहिले नदी किनारमा बाँकी रहेको प्रमुख संरचनामध्ये एक हो।
तर जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्य स्थानमा निर्माण गरिएका अधिकांश संरचना पछिल्लो बाढीले बगाएको छ।
‘नदीलाई आफ्नै धारमा बग्न दिनुपर्छ’
नदी किनारमा संरचना निर्माण गर्नेभन्दा नदीको प्राकृतिक बहावलाई प्राथमिकता दिनुपर्ने आवाज पनि उठेको छ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठले पर्यटनका लागि गरिएको लगानी बाढीका कारण टिकाउन नसकिएको बताए। उनका अनुसार नदीको बीच तथा बहाव क्षेत्रमा बनाइएका संरचना हटाएर नदीलाई सहज रूपमा बग्ने वातावरण बनाउन आवश्यक छ।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सवका लागि पनि नदी किनार व्यवस्थापन गर्न संघले करिब ४० लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। नदी किनारको भाडा महानगरपालिकाले लिने भए पनि संरचना व्यवस्थापनमा निजी क्षेत्रले समेत खर्च गर्नुपरेको उनको भनाइ छ।
पूर्वअध्यक्ष राजन गौतमले पनि नदीको प्राकृतिक बहावमा अवरोध हुने गरी संरचना निर्माण गर्नुको सट्टा नदीलाई आफ्नै धारमा बग्न दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार अहिलेसम्म गरिएको लगानीबाट अपेक्षित स्थायित्व प्राप्त हुन सकेको छैन।
अब बजार जोगाउने चिन्ता
पछिल्लो बाढीले नारायणीको पानी पहिलोपटक यसरी बजार क्षेत्रसम्म प्रवेश गरेपछि नारायणगढ बजारको सुरक्षालाई लिएर स्थानीयमा चिन्ता बढेको छ।
लामो समयदेखि नारायणगढमा बस्दै आएका प्रभातकुमार जोशी नदी कटान बढ्दै गए बजार नै जोखिममा पर्न सक्ने बताउँछन्। उनका अनुसार नदी किनारको संरक्षणमा सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ।
नदीको प्राकृतिक स्वरूपलाई बेवास्ता गर्दै किनारमा अनियन्त्रित रूपमा बस्ती तथा संरचना विस्तार गरिए भविष्यमा नारायणगढ बजारमै जोखिम बढ्न सक्ने स्थानीयको चिन्ता छ।
नयाँ ढंगले योजना बनाउनुपर्ने
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार पछिल्लो बाढीपछि नदीको सतह बढेर पानी बजार क्षेत्रमा प्रवेश गरेको हुन सक्छ। त्यसैले अब नदी तटीय क्षेत्रमा नयाँ ढंगले अध्ययन र नक्सांकन गरेर मात्र संरचना निर्माण गर्नुपर्ने देखिएको छ।
महानगरले नारायणी किनारलाई समुद्री किनारजस्तै आकर्षक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना गरेको भए पनि प्राकृतिक जोखिमका कारण पुरानै ढाँचामा योजना अघि बढाउन कठिन भएको उनको भनाइ छ।
६० वर्षयताकै ठूलो बाढी
पछिल्लो आइतबार नारायणी नदीमा आएको बाढीलाई पछिल्लो ६० वर्षयताकै ठूलो बाढीका रूपमा मापन गरिएको छ।
देवघाटस्थित जलमापन केन्द्रमा बिहान ११ः४० बजे नदीको सतह ११.९३ मिटर पुगेको थियो। नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो स्थानमा ११.६ मिटर पानीको सतह मापन भएको थियो।
देवघाटमा सन् १९६३ देखि नदीको जलस्तर मापन हुँदै आएको छ। उपलब्ध तथ्यांकअनुसार पछिल्लो बाढी सो अवधिको सबैभन्दा ठूलो देखिएको अधिकारीले बताएका छन्।
यही बाढीका कारण नारायणी किनारमा वर्षौँ लगाएर बनाइएका संरचनामा ठूलो क्षति पुगेको हो। अब नदी किनारलाई पर्यटकीय क्षेत्र बनाउने योजनाभन्दा पहिले बाढी, कटान र नदीको प्राकृतिक बहावलाई केन्द्रमा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने देखिएको छ।
