पृथ्वी राजमार्गमा वर्षाको असर, चितवनतर्फ एकतर्फी यातायात
चितवन । लगातार भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या देखिएको छ। सडकको अवस्था बिग्रिएपछि राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
चितवनतर्फको मुग्लिन–मौवाखोला खण्डमा हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। धादिङतर्फको सडकखण्ड भने अझै पूर्ण रूपमा सहज हुन सकेको छैन।
इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा सडक थप भासिएपछि उक्त क्षेत्रमा साना सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवागमन गर्न दिइएको छ। वर्षा नरोकिँदा सडक भासिने क्रम जारी रहेकाले यात्रु तथा सवारीसाधनका लागि जोखिम बढेको छ।
यसैगरी, इच्छाकामना गाउँपालिका–५ मा पर्ने मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन गरिएको छ। पहिरोबाट लगातार ढुंगा खसिरहेकाले सडकमा खसेको माटो तथा ढुंगा हटाउने कामसमेत चुनौतीपूर्ण बनेको छ।
सडक भासिने तथा पहिरो जाने क्रम नरोकिएकाले पृथ्वी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था छ। सडकको अवस्थालाई निरन्तर निगरानी गर्दै सम्बन्धित निकायले जोखिम हेरेर यातायात सञ्चालन गराइरहेको जनाएको छ।
