मर्स्याङ्दीको बाढी र पहिरोले मनाङमा रोकिए पर्यटक
मनाङ। मनाङमा अविरल वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढी र सडक कटानका कारण पर्यटकको आवतजावत प्रभावित भएको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि प्राकृतिक विपत्तिका कारण माथिल्लो तथा तल्लो मनाङमा पुगेका पर्यटक उतै रोकिएका छन्।
आइतबारदेखि निरन्तर परेको वर्षाका कारण माथिल्लो मनाङ क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा बाढी र पहिरोको समस्या देखिएको छ। मर्स्याङ्दी नदीले सडकको ट्र्याक विभिन्न स्थानमा कटान तथा बगाएपछि पर्यटकलाई सहज रूपमा फर्किन समस्या भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले जनाएको छ।
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङ पुगेका २२६ जना विदेशी पर्यटक दर्ता भएका छन्। तीमध्ये ४४ जना फर्किसकेका छन्। बाक्लो हिमपातका कारण थोराङ्ला पास गर्न गएका करिब १५० भन्दा बढी पर्यटक पनि पुनः मनाङतर्फ फर्किएका छन्।
मनाङ गाउँमा रोकिएका पर्यटक सुरक्षित रहेको भुजेलले बताएका छन्। थोराङ्ला पास गर्ने क्रममा रहेका पर्यटकलाई आवश्यकताअनुसार मुस्ताङतर्फबाट हेलिकप्टरमार्फत फर्किन सक्ने व्यवस्था गरिएको छ। बिरामी तथा प्रवेशाज्ञाको अवधि सकिएका केही पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरिएको जनाइएको छ।
हिमपातका बेला मनाङ गाउँमा पर्यटकको संख्या उल्लेख्य रहे पनि सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएकाले यकिन विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्।
एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार धारापानी चेकपोस्टमा सेप्टेम्बर २२ देखि २८ सम्म ५९० जना विदेशी पर्यटक दर्ता भएका थिए। त्यसमध्ये लगातारको वर्षा, बाढी र पहिरोका कारण १४६ जना फर्किएका छन्।
गुरुङका अनुसार माथिल्लो मनाङ पुगेका पर्यटक त्यहीँ रोकिएका छन् भने चामेभन्दा तल रहेका पर्यटक पनि बाटो अवरुद्ध भएपछि मनाङमै छन्। मर्स्याङ्दी नदीको कटानले सडकको ट्र्याक नै बगाएकाले तत्कालै आवतजावत सुचारु गर्न कठिन भएको उनको भनाइ छ।
बाढीपहिरोले मनाङका विभिन्न स्थानमा सडक क्षतिग्रस्त बनाएको छ। सडक भासिएका तथा बगेका ठाउँमा नयाँ ट्र्याक निर्माण नभएसम्म स्थानीयवासी र पर्यटकको नियमित आवतजावत सम्भव नहुने अवस्था छ। सडक कटानका कारण आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउनसमेत समस्या भइरहेको छ।
