अमेरिका पुगेका सी न्युयोर्क किन गएनन्? महासभा छाड्नुका पछाडि यस्ता कारण
अमेरिकाबाट फर्किने क्रममा बिदाइको हात हलाउँदै चीनका राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी (प्रथम महिला) पेङ लियुआन।
काठमाडौं — चीनका राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगे पनि नजिकैको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएनन्। सेप्टेम्बर २३ मा वासिङ्टन पुगेका सी महासभा चलिरहेकै समयमा अमेरिकामा रहे पनि चीनको प्रतिनिधित्व उपराष्ट्रपति हान झेङले गरेका छन्।
सेप्टेम्बर २४ देखि २६ सम्म न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा हान सहभागी भएका हुन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार हानले विश्वव्यापी विकास पहलको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित उच्चस्तरीय संवादमा भाग लिनुका साथै संयुक्त राष्ट्रसंघका महासचिव, महासभाका अध्यक्ष तथा विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
सीको महासभा अनुपस्थितिलाई कतिपय अन्तर्राष्ट्रिय विश्लेषकले चीनको कूटनीतिक प्राथमिकतासँग जोडेर हेरेका छन्। चीनले संयुक्त राष्ट्रसंघलाई विश्व व्यवस्थाको केन्द्रका रूपमा प्रस्तुत गर्दै आए पनि सी आफैं सन् २०१२ मा चीनको सर्वोच्च नेता बनेयता महासभामा प्रत्यक्ष रूपमा एकपटक मात्रै सहभागी भएका छन्।
सन् २०१५ मा संयुक्त राष्ट्रसंघको ७०औँ वार्षिकोत्सवका अवसरमा सी न्युयोर्क पुगेका थिए। त्यसबेला उनले महासभालाई सम्बोधनसमेत गरेका थिए। सन् २०२१ मा भने उनले भिडियोमार्फत महासभालाई सम्बोधन गर्दै चीनको विश्वव्यापी विकास पहल घोषणा गरेका थिए। त्यसयता उनले महासभामा प्रत्यक्ष सम्बोधन गरेका छैनन्।
सुरुमा न्युयोर्क जाने तयारी
सीको यसपटकको भ्रमण सुरुमा भने फरक ढंगले तय भएको संकेतहरू सार्वजनिक भएका छन्। जापानी सञ्चारमाध्यम निक्केई एसियाका अनुसार सीले न्युयोर्कमा महासभामा सहभागी हुने योजना बनाएका थिए। तर अगस्टको मध्यतिर उक्त योजना परिवर्तन गरिएको थियो।
निक्केई एसियाले चिनियाँ सरकारी छलफलसँग परिचित स्रोतलाई उद्धृत गर्दै सीको अमेरिका बसाइलाई करिब तीन दिनमा सीमित गर्ने निर्णयसँगै न्युयोर्क जाने कार्यक्रम हटाइएको जनाएको छ।
रिपोर्टअनुसार चीन र अमेरिकाबीच सीको सम्भावित भ्रमणका लागि प्रारम्भिक तयारीसमेत भइरहेको थियो। जुलाईको अन्त्यतिर न्युयोर्कमा चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङ र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टबीच बैठक गराउने प्रयास भएको उल्लेख छ।
निक्केई एसियाका अनुसार सीको भ्रमणमा चीन र अमेरिकाबीच शक्ति तथा हैसियतको समानताको सन्देश दिनुलाई प्राथमिकता दिइएको हुन सक्ने विश्लेषण गरिएको छ।
महासभाबाट टाढा रहँदा जोखिम पनि कम
महासभामा सहभागी नहुँदा सीले अप्रत्याशित कूटनीतिक परिस्थितिको सामना गर्नुपर्ने सम्भावना पनि कम हुने केही विश्लेषणमा उल्लेख छ।
महासभाका क्रममा अन्य देशका नेताबाट चीनको आलोचना हुन सक्ने तथा त्यस्ता विषयले अन्तर्राष्ट्रिय ध्यान तान्न सक्ने भएकाले सीको अनुपस्थिति चीनका लागि जोखिम न्यूनीकरणको एउटा उपाय हुन सक्ने निक्केई एसियाको विश्लेषण छ।
सन् २०१५ मा सी न्युयोर्क पुगेका बेला संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर चीनविरोधी प्रदर्शन भएको घटनालाई पनि उक्त रिपोर्टले उदाहरणका रूपमा उल्लेख गरेको छ।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ सल्लाहकार स्कट केनेडीले सीको अमेरिका भ्रमणको अवधि यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्दा बिताएको समयसँग मिलाउन खोजिएको हुन सक्ने बताएका छन्।
उनका अनुसार सीको अमेरिका भ्रमणमा ट्रम्पसँगको वार्तालाई प्राथमिकता दिइएको हुन सक्ने र सीमित समयभित्र व्यापक एजेन्डा तथा ठोस परिणाम निकाल्नुपर्ने चुनौती पनि रहेको हुन सक्छ।
संयुक्त राष्ट्रसंघको भूमिकामाथि बहस
सीको महासभा अनुपस्थितिलाई संयुक्त राष्ट्रसंघको वर्तमान अवस्थासँग जोडेर पनि विश्लेषण गरिएको छ। न्युयोर्क टाइम्सले विश्वका प्रमुख शक्तिहरूले संयुक्त राष्ट्रसंघलाई क्रमशः बेवास्ता वा बाइपास गर्न थालेको उल्लेख गर्दै संस्थाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
सन् २०१५ मा सीले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्न वासिङ्टन पुग्दा त्यही भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागिता जनाएका थिए। यसपटक भने उनले वासिङ्टनलाई मात्र केन्द्रमा राखेका छन्।
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रूपमा काम गरेका जेफ्री प्रेस्कटले सीको अनुपस्थितिलाई संयुक्त राष्ट्रसंघका लागि प्रतीकात्मक रूपमा महत्वपूर्ण घटना भएको बताएका छन्।
उनका अनुसार वासिङ्टनबाट न्युयोर्क धेरै टाढा नरहे पनि सीले महासभामा सहभागी हुन समय नछुट्याउनुबाट अहिले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चका रूपमा रहेको महत्त्वबारे प्रश्न उठ्न सक्छ।
संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि पछिल्ला वर्षमा बहस बढ्दै गएको छ। विशेषगरी सुरक्षा परिषद्मा अमेरिका, चीन र रुसबीच देखिने मतभेदका कारण इरान, युक्रेन, गाजा, यमन र दक्षिण सुडानजस्ता विषयमा प्रभावकारी निर्णय गर्न कठिनाइ देखिएको विश्लेषण गरिन्छ।
सुरक्षा परिषद्का यी तीन स्थायी सदस्यसँग भिटो अधिकार रहेकाले उनीहरूबीच सहमति नबन्दा बाध्यकारी निर्णय तथा अन्तर्राष्ट्रिय कारबाही अघि बढाउन समस्या पर्ने अवस्था रहँदै आएको छ।
यसैबीच, सीको अमेरिका भ्रमणमा भने वासिङ्टनसँगको द्विपक्षीय सम्बन्ध, व्यापार, सुरक्षा तथा अन्य रणनीतिक विषयलाई प्राथमिकता दिइएको देखिएको छ। महासभामा चीनको प्रतिनिधित्व उपराष्ट्रपति हान झेङले गरिरहेका छन्।
अमेरिकाबाट फर्किने क्रममा बिदाइको हात हलाउँदै चीनका राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी (प्रथम महिला) पेङ लियुआन।
