ओडिसा तट पार गर्दै ‘डिप डिप्रेसन’, नेपालमा भारी वर्षासँगै हावाहुरीको चेतावनी
काठमाडौं । बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) भारतको ओडिसा तट पार गरेको छ। यसको प्रभाव तथा देशमा कायम मनसुनी र आंशिक पश्चिमी वायुको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणाली भारतको विशाखापट्टनम र गोपालपुरबीचको क्षेत्र हुँदै कलिङपट्टनमको दक्षिणपश्चिमबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तट पार गरेको हो। प्रणाली उत्तरपश्चिमतर्फ अघि बढ्ने र त्यसपछि उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने अनुमान गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। यही मौसमी अवस्थाका कारण देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत हल्का वर्षा भइरहेको छ।
आजको मौसम पूर्वानुमान
दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश समय बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिममा भने सामान्यदेखि आंशिक बदली रहने अनुमान छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा यस्तै मौसम रहनेछ।
तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, तराईका अधिकांश स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
तराईका केही स्थानमा रातिको समयमा समेत हावाहुरीको सम्भावना रहेको छ।
काठमाडौंमा पनि मध्यम वर्षाको सम्भावना
मौसम महाशाखाले काठमाडौं उपत्यकामा आज दिउँसो र राति दुवै समयमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। दुवै अवधिमा वर्षा हुने सम्भावना ७० प्रतिशत रहेको पूर्वानुमान छ।
वर्षाको मात्रा कसरी वर्गीकरण गरिन्छ?
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ।
त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।
‘एक–दुई’, ‘केही’ र ‘अधिकांश स्थान’को अर्थ
मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा वर्षाको सम्भावना भन्ने बुझिन्छ।
१० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने भए ‘धेरै स्थान’ भनिन्छ।
८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना रहेमा मौसमविद्ले ‘अधिकांश स्थानमा वर्षा’ हुने उल्लेख गर्छन्।
