म्याग्दीका २६ पहिरोको अध्ययनपछि न्युरोड क्षेत्रमा उच्च सतर्कता
म्याग्दी । लगातारको वर्षापछि बाढीपहिरोको जोखिम बढेको म्याग्दीमा भूगर्भविद्को टोलीले विभिन्न २६ स्थानका पहिरोको स्थलगत अध्ययन गरेको छ। अध्ययनका क्रममा बेनी बजारको न्युरोड क्षेत्र थप जोखिममा रहेको पाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजका भूगर्भविद्हरूले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्।
समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा गएको टोलीले बेनी नगरपालिकाका २२ तथा रघुगङ्गा गाउँपालिकाका चार स्थानमा पहिरोको अवस्था अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए। शनिबार र आइतबार स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ६ जना भूगर्भविद्लाई तीन समूहमा विभाजन गरी अध्ययन गरिएको थियो।
अध्ययन गरिएका स्थानमा बेनी नगरपालिकाका भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरीगैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराहपाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर र तोरीपानीलगायत क्षेत्र छन्। रघुगङ्गाका हरखर्क, बरखर्क, माझखर्क र कल्लेनीमा पनि टोली पुगेको थियो।
ड्रोनबाट पहिरोको अवस्था अध्ययन
पहिरोको फैलावट, जमिनको अवस्था र माटोको बनोटबारे विस्तृत जानकारी लिन टोलीले ड्रोनबाट तस्बिर खिच्नुका साथै पहिरो प्रभावित स्थानबाट ढुङ्गा र माटोका नमूना संकलन गरेको थियो।
भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. चम्पकबाबु सिलवालका अनुसार संकलित नमूनाको परीक्षण र स्थलगत अवस्थाको विश्लेषणबाट पहिरोको जोखिमबारे थप निष्कर्ष निकालिनेछ।
बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरो क्षेत्रको प्रारम्भिक अध्ययन प्रतिवेदन टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरिसकेको छ।
न्युरोडका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह
अध्ययन टोलीले बेनी बजारको न्युरोड क्षेत्रमा पछिल्लो समय गएको पहिरो अझै सक्रिय हुनसक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। पहिरोमाथिको जमिनमा थप चिरा देखिएको र पानी पर्दा जमिन बग्ने सम्भावना रहेकाले जोखिमलाई सामान्य रूपमा नलिन सुझाव दिइएको हो।
टोली संयोजक खतिवडाका अनुसार पहिरोको नियमित निगरानी तथा आकारको मापन गरी अभिलेख राख्न आवश्यक छ। धाँजा फाटेको जमिनमा पानी पस्न नदिन तत्काल व्यवस्थापन गर्ने, भूमिगत पानीको उचित निकास मिलाउने तथा जोखिम क्षेत्रको निरन्तर निरीक्षण गर्नुपर्ने सुझाव दिइएको छ।
दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि आवश्यक संरचना र अन्य उपाय समेटेर विस्तृत प्रतिवेदन तयार गरिने टोलीले जनाएको छ।
अत्यधिक वर्षा र अव्यवस्थित विकासले बढायो जोखिम
असोज ८ देखि ११ गतेसम्म लगातार भएको भारी वर्षाका कारण भिरालो क्षेत्रको जमिन कमजोर बनेको अध्ययन टोलीको निष्कर्ष छ। सडकबाट बग्ने भलको उचित व्यवस्थापन नहुनु, अव्यवस्थित निर्माण गतिविधि र भूमिगत पानीको सुरक्षित निकास नहुनुले पनि पहिरोको जोखिम बढाएको पाइएको छ।
यसअघि नै जोखिममा रहेका क्षेत्रमा थप पानी जम्दा जमिनको संरचना कमजोर भएकाले तत्कालीन र दीर्घकालीन दुवै उपाय अपनाउनुपर्ने भूगर्भविद्हरूले बताएका छन्।
बाढीपहिरोमा सात जनाको मृत्यु
पछिल्लो साताको वर्षापछि आएको बाढी र पहिरोका कारण म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई सयभन्दा बढी घर तथा गोठमा क्षति पुगेको छ भने विभिन्न गाउँका बासिन्दा विस्थापित भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ। थप ३४२ घर जोखिममा रहेको प्रारम्भिक विवरण छ। क्षतिको विवरण संकलन जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् र सञ्चार सेवा प्रभावित हुँदा विभिन्न क्षेत्रमा जनजीवन कष्टकर बनेको छ।
– रासस
