फ्लाई दुबई विमान दुर्घटनाको प्रयासमा सह-पाइलट एक्लै संलग्न रहेको रिपोर्ट
काठमाडौं । दुबईबाट इजरायलतर्फ उडेको फ्लाई दुबईको विमानलाई दुर्घटनामा पार्ने प्रयासमा ओमानी सह-पाइलट हमाम अल–हमामी एक्लै संलग्न रहेको दाबी गरिएको छ। इटालीको कोरिएरे डेला सेरा मा प्रकाशित रिपोर्टले उनले विमानका भारतीय क्याप्टेन स्मित मच्छरमाथि आक्रमण गर्दै विमान दुर्घटनाको प्रयास गरेको उल्लेख गरेको छ।
रिपोर्टअनुसार सह-पाइलटको प्रारम्भिक योजना क्याप्टेनलाई नियन्त्रणमा लिएर विमानलाई इजरायलको तेल अभिभस्थित अग्लो भवनमा ठोक्काउने रहेको थियो। उनले ककपिटमै प्रार्थना गरिरहेको जस्तो देखाउँदै अचानक क्याप्टेनमाथि आपत्कालीन अवस्थामा प्रयोग हुने बन्चरोले प्रहार गरेको बताइएको छ।
क्याप्टेनमाथि अचानक आक्रमण
रिपोर्टमा उल्लेख भएअनुसार सुरुमा क्याप्टेन स्मितले आफ्नो टाउकोमा विमानको कुनै वस्तु लागेको ठानेका थिए। तर लगातार प्रहार भएपछि आफूलाई कसैले आक्रमण गरिरहेको उनले थाहा पाए।
बन्चरो प्रहारबाट क्याप्टेनको टाउको र हातमा गम्भीर चोट लागेको तथा अत्यधिक रक्तस्राव भएको बताइएको छ। घाइते अवस्थामा समेत उनले ककपिटको ढोका खोल्ने प्रयास गरेका थिए। सह-पाइलटले उनलाई रोक्न खोजे पनि पटकपटकको प्रयासपछि क्याप्टेन ढोका खोल्न सफल भएको रिपोर्टमा उल्लेख छ।
विमानलाई नियन्त्रणबाहिर लैजाने प्रयास
क्याप्टेनमाथिको आक्रमण सफल नभएपछि सह-पाइलटले विमानलाई अन्य तरिकाबाट दुर्घटनामा पार्ने प्रयास गरेको रिपोर्टको दाबी छ।
उनले अटोपाइलट प्रणाली बन्द गरेपछि विमान तीव्र गतिमा तल झर्न थालेको बताइएको छ। अनुसन्धानकर्ताहरूले सह-पाइलटले विमानका दुवै इन्जिन बन्द गर्ने प्रयाससमेत गरेको हुनसक्ने आशंका गरेको रिपोर्टमा उल्लेख छ।
अन्य पाइलट र यात्रुले सम्हाले अवस्था
ककपिटको ढोका खुलेपछि बाहिर रहेका थप दुई पाइलट तथा केही यात्रु ककपिटभित्र पुगेका थिए। उनीहरूले आक्रमणमा संलग्न सह-पाइलटलाई नियन्त्रणमा लिएपछि विमानलाई थप दुर्घटनाबाट जोगाउन सफल भएको बताइएको छ।
घटनाबारे सार्वजनिक भएको रिपोर्टले सह-पाइलटको व्यक्तिगत योजनाबाट विमान दुर्घटनामा पार्ने प्रयास भएको संकेत गरे पनि घटनाको पूर्ण तथ्य र उद्देश्यबारे आधिकारिक अनुसन्धानको निष्कर्ष नै निर्णायक हुने देखिन्छ।
