कांग्रेसको १५औँ महाधिवेशनमा मतदाता बढे, १४औँ भन्दा २३७१ बढी
काठमाडौं — नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि ७ हजार ११४ जना मतदाता कायम गरिएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिको संख्या निर्धारण गरिएको हो।
यो संख्या कांग्रेसको १४औँ महाधिवेशनको तुलनामा उल्लेख्य रूपमा बढी हो। १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना मतदाता रहेका थिए। यसपटक अघिल्लो महाधिवेशनभन्दा २ हजार ३७१ जना मतदाता थपिएका छन्।
पार्टीमा क्रियाशील सदस्यको संख्या पनि पछिल्लो समय बढेको कांग्रेसले जनाएको छ। कांग्रेसका अनुसार हाल देशभर ९ लाख ६९ हजार ८४२ जना क्रियाशील सदस्य रहेका छन्।
१४औँ महाधिवेशनका बेला क्रियाशील सदस्य संख्या करिब ८ लाख ७० हजार थियो। त्यसको तुलनामा अहिले करिब एक लाख सदस्य थपिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
क्रियाशील सदस्यको संख्या वृद्धि भएसँगै महाधिवेशनका लागि निर्धारण हुने प्रतिनिधि तथा मतदाताको संख्यामा समेत वृद्धि भएको कांग्रेसले जनाएको छ। १५औँ महाधिवेशनमा बढेको मतदाता संख्याले पार्टीको सांगठनिक विस्तारलाई समेत प्रतिबिम्बित गर्ने देखिएको छ।
