दशैंको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौं— यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार त्यस दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्ने शुभसाइत छ। टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवैले पश्चिम मोहडा फर्किनुपर्ने उल्लेख गरिएको छ।
यस वर्षको दसैं असोज २५ गते आइतबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा तोकिएको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। त्यसपछि असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेटमा र स्थिरासनको साइत १० बजेर ३९ मिनेटमा रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।
कार्तिक ४ गते बुधबार विजया दशमीका दिन देवी विसर्जन र टीका लगाउने मुख्य कार्यक्रम हुनेछ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा र स्थिरासनको शुभसाइत ११ बजेर ५२ मिनेटमा रहेको छ। खड्गयात्रा पनि यही दिन हुनेछ।
त्यसैगरी, कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको साइतअनुसार यस वर्ष दसैंका विभिन्न धार्मिक तथा सांस्कृतिक विधिका लागि समय निर्धारण गरिएको हो।
