अडियो विवादमा खगेन्द्र सुनार, रास्वपाद्वारा आन्तरिक छानबिन सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारसँग जोडिएको महिलामाथि दुर्व्यवहार र धम्की दिएको भनिएको अडियो प्रकरणबारे आन्तरिक छानबिन अघि बढाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्न निर्देशन दिइएको जानकारी दिएका छन्।
छानबिन पूरा नभएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको आचार्यले बताएका छन्। अनुसन्धान निष्पक्ष रूपमा अघि बढाउन र पदीय मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक भएको भनिएको अडियोमा महिलामाथि दुर्व्यवहार, धम्की तथा आर्थिक लेनदेनसम्बन्धी कुराकानी सुनिएको दाबी गरिएको छ। उक्त सामग्री सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन्।
रास्वपाले आफ्ना नेता, सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई गम्भीर रूपमा लिने स्पष्ट पारेको छ। पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी प्रकृतिका कसुरमा शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ।
महामन्त्री आचार्यका अनुसार सुनारमाथि राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पनि पार्टीले आवश्यक सहयोग गर्नेछ। पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा थप प्रक्रिया अघि बढाइनेछ।
