३६ दिनको कठिन यात्रापछि बजारमा भेडाच्याङ्ग्रा, बिक्री हुनेमा किसान चिन्तित
म्याग्दी । दसैंलाई लक्षित गर्दै मुगुबाट भेडाच्याङ्ग्रा लिएर निस्किएका किसानहरू ३६ दिनको लामो र कष्टकर यात्रा पूरा गरी साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। हिमपात, प्रतिकूल मौसम र सडक अवरोधको सामना गर्दै बजारसम्म आइपुगे पनि समयमै बिक्री गर्न सकिने हो वा होइन भन्ने चिन्ताले उनीहरूलाई सताएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय बिकसहित चार जनाको टोलीले २०० भेडाच्याङ्ग्रा लिएर यात्रा गरेको हो। तीमध्ये १०० वटा आफ्नै फार्ममा पालिएका र बाँकी छिमेकीबाट खरिद गरिएका हुन्। दसैंका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू भदौ १८ गते घरबाट निस्किएका थिए।
बिकका अनुसार प्रतिकूल मौसम र बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रा निकै कठिन बन्यो। डोल्पाको छार्कामा हिमपात भएपछि उनीहरूको टोली एक सातासम्म रोकिएको थियो। अन्ततः घरबाट हिँडेको ३६ दिनपछि गलेश्वर आइपुगेको उनले बताए।
टोलीले शनिबार भेडाच्याङ्ग्रालाई गाडीमा राखेर पोखरा पुर्याउने योजना बनाएको छ। तर, दसैं नजिकिइसकेकाले बजारमा माग कस्तो रहने र सबै पशु बिक्री गर्न सकिने हो वा होइन भन्ने चिन्ता उनीहरूमा छ।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि ७०० भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। घरबाट निस्किएको २२ दिनपछि उनीहरू शुक्रबार घोडेपानी हुँदै कास्कीको पोखरातर्फ अघि बढेका हुन्।
त्यस्तै, डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा १६० च्याङ्ग्रा बिक्री गर्न २५ दिन पैदल यात्रा गरेर पोखरा जाँदै छन्। चार हजार मिटरभन्दा बढी उचाइमा पालिएका च्याङ्ग्रालाई साँघुरा बाटा, भिर र खोल्सा पार गराउँदै बजारसम्म पुर्याउनु चुनौतीपूर्ण काम हो। यद्यपि, भेडाच्याङ्ग्रा पालन र बिक्री हिमाली क्षेत्रका किसानको परम्परागत पेसा रहँदै आएको छ।
सडक अवरोधले थपियो समस्या
यस वर्ष बाढीपहिरो र हिमपातका कारण भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन किसानले थप कठिनाइ भोग्नुपरेको छ। असोज ८ देखि ११ गतेसम्म भएको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध हुँदा पशु पैदल ल्याउने तथा सवारीसाधनमार्फत ढुवानी गर्ने काम प्रभावित भएको हो।
डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको चहलपहल जोमसोमदेखि बेनीसम्म देखिएको छ। गलेश्वरसम्म ल्याइएका पशुलाई ट्रक र कन्टेनरमार्फत पोखरा, काठमाडौंलगायतका सहरमा पठाउन थालिएको छ।
तर, डोल्पाबाट मुस्ताङ आउने बाटो हिमपातका कारण अवरुद्ध हुँदा केही किसानले आफ्ना पशु बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले जानकारी दिएका छन्।
तातोपानी र रसुवा नाका बन्द रहेका कारण यस वर्ष ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्ति गर्न मुस्ताङको मार्ग महत्त्वपूर्ण बनेको छ। जोमसोममा पशुको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था गरिएको छ। कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राले स्वास्थ्य परीक्षणपछि निकासी अनुमति पाएका छन्। गत वर्ष भने १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।
ढुवानी र खरिद लागत बढ्यो
सडक अवरोध तथा लामो यात्राका कारण भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउने खर्च बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्न र पशु खरिद गर्नसमेत समस्या भएको व्यापारीहरूले बताएका छन्।
बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार असोज दोस्रो सातादेखि मुस्ताङमा सञ्चारलगायतका सेवा प्रभावित हुँदा आफूले चाहेजति भेडाच्याङ्ग्रा खरिद गर्न सकेनन्।
व्यापारीहरूका अनुसार मुस्ताङमा आकारअनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ। बेनी क्षेत्रमा भने भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँसम्म पुगेको छ।
पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिने व्यापारीहरूको भनाइ छ। दसैंका अवसरमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन भएकाले मूल्य महँगो भए पनि यसको माग रहने गरेको छ।
पोखरा र काठमाडौं मुस्ताङी भेडाच्याङ्ग्राका प्रमुख बजार हुन्। यसबाहेक म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको व्यापारी प्रेम छन्त्यालले बताएका छन्।
च्याङ्ग्रापालन नै मुख्य आम्दानीको आधार
मुस्ताङका धेरै परिवारको जीविकोपार्जन च्याङ्ग्रापालनमा निर्भर छ। नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन स्थानीय किसानको प्रमुख आयस्रोत हो। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिँदै आएका छन्।
च्याङ्ग्राको शरीरबाट प्राप्त हुने भुवा पस्मिना उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। तर, यस व्यवसायमा अनेक चुनौती छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउनुपर्ने, घाँसको अभाव र अत्यधिक हिमपातका कारण पशु मर्ने जोखिम किसानले सामना गर्दै आएका छन्।
दसैंको बिक्रीबाट वर्षभरिको आम्दानी जुटाउने अपेक्षासहित किसानले हिमाली क्षेत्रबाट लामो दूरी पार गरेर भेडाच्याङ्ग्रा बजारसम्म ल्याउने गर्छन्। यस वर्ष भने मौसमको प्रतिकूलता, सडक अवरोध, बढ्दो ढुवानी खर्च र बजारमा ढिलो पुग्नुपर्दा उनीहरूको आम्दानी प्रभावित हुने चिन्ता बढेको छ।
