पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर पर्यटन प्रवर्द्धन गरिने, ‘सिल्भर ट्रयांगल’ अवधारणा अघि बढ्दै
गण्डकी। नेपालका तीन प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सञ्जालमा जोड्ने उद्देश्यले ‘सिल्भर ट्रयांगल’ अवधारणालाई कार्यान्वयनमा लैजान पहल सुरु भएको छ।
पर्यटन विकास, प्रचारप्रसार, सफल अभ्यासको आदानप्रदान र आपसी सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले संयुक्त योजना अघि बढाएका हुन्। यसअघि तीनवटै स्थानीय तहबीच भएको समझदारीलाई व्यवहारमा उतार्न उनीहरूले सक्रियता बढाएका छन्।
यसै क्रममा भरतपुर महानगरपालिकाले सोमबार सरोकारवालासँग अन्तरक्रिया आयोजना गरी पर्यटन प्रवर्द्धनका उपाय, सम्भावना र भावी कार्ययोजनाबारे छलफल गरेको छ। कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी र निजी क्षेत्रका अगुवाहरूले तीनवटै गन्तव्यको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्राकृतिक पर्यटन र लुम्बिनीलाई सांस्कृतिक तथा धार्मिक पर्यटनसँग जोडेर संयुक्त रूपमा प्रचार गर्नुपर्ने बताए। उनले पर्यटकीय पूर्वाधारसँगै सरसफाइ र वातावरण संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने धारणा राखे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीन सहरबीचको पर्यटन सहकार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्ने बताए। गत जेठमा भएको सहमतिअनुसार ‘सिल्भर ट्रयांगल’ कार्यक्रमलाई महानगरको नीति, योजना र कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ।
आचार्यले निजी व्यवसायीबीचको सहकार्य (बीटुबी) र सरकारबीचको साझेदारी (जीटुजी) लाई व्यावहारिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। नेपाल आउने पर्यटकले पोखरा, चितवन र लुम्बिनीलाई एउटै भ्रमण योजनामा समेट्न सक्ने गरी यातायात सम्पर्क, पर्यटकीय सेवा र सुविधाको विस्तार आवश्यक रहेको उनले बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन क्षेत्रमा निजी लगानी आकर्षित गर्नुपर्ने बताइन्। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न सामूहिक पहल आवश्यक रहेको पनि उनले उल्लेख गरिन्।
पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुनुपर्ने बताए। प्राकृतिक विपद्का कारण पर्यटनमा परेको असर न्यूनीकरण गर्न नेपाल सुरक्षित र खुला गन्तव्य रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने उनको भनाइ छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ अवधि बढाउने खालका कार्यक्रम बनाउनुपर्ने बताए। चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीनै सहरका व्यवसायीबीच सञ्जाल विस्तार र संयुक्त प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचारलाई व्यापक बनाउनुपर्नेमा जोड दिए। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीनवटै गन्तव्यको पहिचानलाई स्थापित गर्न साझेदारी र सहकार्य अपरिहार्य रहेको बताए। उनका अनुसार छिट्टै ‘सिल्भर ट्रयांगल’ पर्यटन मेला अर्थात् ट्राभल मार्ट आयोजना गर्ने तयारी छ।
गत जेठ २६ गते भएको समझदारीअनुसार तीनवटै स्थानीय तहले पालैपालो प्रत्येक वर्ष ‘सिल्भर ट्रयांगल पर्यटन मेला’ आयोजना गर्नेछन्। साथै, आवश्यकताअनुसार सरकारी तथा व्यावसायिक बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन बजार विस्तार तथा प्रचार अभियान चलाउने सहमति भएको छ।
समझदारीमा संयुक्त ब्रोसर, भिडियो र डिजिटल प्रचार सामग्री निर्माण तथा वितरण गर्ने, डिजिटल सूचना बोर्ड स्थापना गर्ने र पर्यटनसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने योजना पनि समेटिएको छ। यसै योजनाअन्तर्गत भरतपुर महानगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको डिजिटल सूचना बोर्डको सोमबार उद्घाटन गरिएको छ।
त्यसैगरी, होटल, ट्राभल एजेन्सी, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य विस्तार गर्ने तथा सांस्कृतिक, शैक्षिक र पर्यटन आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने योजना छ। तीनवटै गन्तव्यलाई समेटेर एकीकृत पर्यटक प्याकेज तयार पार्ने र स्थानीयदेखि संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समझदारीमा उल्लेख छ।
‘सिल्भर ट्रयांगल’ अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पोखराको साहसिक पर्यटन, चितवनको प्राकृतिक सम्पदा र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई एउटै यात्रामा जोड्न सकिनेछ। यसबाट पर्यटकको बसाइ लम्ब्याउन, पर्यटन व्यवसाय विस्तार गर्न र तीनै क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
