दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढीले छाडे उपत्यका
काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुको सङ्ख्या बढ्न थालेको छ। अध्ययन, रोजगारी र विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्किन थालेका हुन्।
काठमाडौं उपत्यकाका प्रमुख नाकामा बाहिरिने यात्रुको चाप बढेको छ। सार्वजनिक यातायातमार्फत लामो तथा छोटो दूरीका गन्तव्यतर्फ जाने यात्रुको चहलपहल बढेसँगै बसपार्क र सडकमा पनि भीड देखिन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ जना यात्रुले उपत्यका छाडेका छन्।
उनका अनुसार विभिन्न नाकाबाट बाहिरिने यात्रुको विवरण यस्तो छ:
- नागढुंगा नाका: २७ हजार ६४९ जना
- भक्तपुर नाका: २० हजार ६१५ जना
- फर्पिङ नाका: ५ हजार ५१० जना
- तीनपिप्ले नाका: ९७२ जना
- भट्टेडाँडा नाका: ८८६ जना
- साँखु नाका: ६०८ जना
- भीमढुंगा नाका: ५१३ जना
- थानकोट नाका: ५६ जना
दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन र व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्।
उनका अनुसार विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन निर्धारित समयमा गन्तव्यमा पुग्न तथा राजधानी फर्किन समस्या भइरहेको छ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात आवागमन प्रभावित भएको थियो। त्यसक्रममा धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा दसैँको समयमा सवारी व्यवस्थापन थप जटिल बनेको महासचिव गौतमले बताए।
यातायात व्यवसायी महासंघले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको भाडादरअनुसार रकम तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउने परम्पराका कारण हरेक वर्ष राजधानीबाट गृहजिल्ला फर्किनेको सङ्ख्या बढ्ने गर्छ। आगामी दिनमा पनि यात्रुको चाप थप बढ्न सक्ने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।
