गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत र भएको निर्वाचनको मतगणनामा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बनेका हुन्।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणनाको परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी खड्गीले भने ३७५ मत पाएका छन्।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार मतगणना सम्पन्न भएसँगै थापा सभापतिमा निर्वाचित भएको पुष्टि भएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी हुने व्यवस्था रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। खसेका मतमध्ये ५४ मत बदर भएको जनाइएको छ।
सभापति पदमा थापाले प्राप्त गरेको मत र खड्गीले पाएको मतबीच ठूलो अन्तर देखिएको छ। यस परिणामसँगै नेपाली कांग्रेसको नेतृत्वमा थापा निर्वाचित भएका छन्।
