सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल बर्खास्त
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ। आचरण उल्लंघन, अनुशासनहीन गतिविधि तथा नेपाल सरकार र आफू कार्यरत संगठनको प्रतिष्ठामा आँच पुर्याएको आरोपमा गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गरेको हो।
गृह मन्त्रालयका अनुसार दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।
दाहाल चार वर्षे पदावधिका कारण असोज २७ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए। सशस्त्र प्रहरी नियमावलीमा रहेको पदावधि एक वर्ष थप गर्न सकिने व्यवस्थाअनुसार उनको कार्यकाल बढाउन मुख्यालयले गृह मन्त्रालयमा प्रस्तावसमेत पठाएको थियो। तर, अवकाशको मिति नजिकिँदै गर्दा उनी बर्खास्तीमा परेका हुन्।
संवेदनशील सूचना आदानप्रदान गरेको आरोप
इनाम सापकोटा नामका व्यक्तिसँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा संवाद गरेको प्रमाण भेटिएपछि दाहाल निलम्बनमा परेका थिए। त्यसपछि घटनाको छानबिन गर्न एआइजी अञ्जनी पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार पोखरेलले बिहीबार छानबिन प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान भएको विवरण र दाहालको बयानसमेत समावेश गरिएको बताइएको छ।
बयानका क्रममा दाहालले इनाम सापकोटासँग कुराकानी गरेको स्वीकार गरेको गृह मन्त्रालय स्रोतको भनाइ छ। उनले सापकोटा आफ्नो जिल्लाकै व्यक्ति भएको बताएका थिए। उक्त घटनाबारे छानबिनपछि शुक्रबार बिहान उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको थियो।
नियमावलीअनुसार विभागीय कारबाही
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० मा प्रहरी कर्मचारीलाई दिन सकिने सामान्य र विशेष सजायको व्यवस्था छ। सामान्य सजायअन्तर्गत ग्रेड तथा तलब वृद्धि रोक्का गर्ने, बढुवा रोक्ने र पद घटुवा गर्नेसम्मका प्रावधान छन्।
विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तथा भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था समावेश छ। नियमावलीको नियम ११३ मा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने प्रावधान उल्लेख छ।
दाहालमाथि गरिएको कारबाहीका लागि यिनै कानुनी व्यवस्थाअन्तर्गत छानबिन प्रतिवेदन पेस गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको घटनाका क्रममा पनि दाहाल राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।
