‘अर्नब’ चक्रवातको जोखिम बढ्दै, तीन दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्न सक्ने सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न प्राधिकरणले आठबुँदे पूर्वतयारी तथा सुरक्षासम्बन्धी सुझावसमेत सार्वजनिक गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवातको शक्ति बढ्दै गएको छ। उक्त प्रणाली आगामी कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते रातिदेखि देखिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ र १४ गते कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्ने सम्भावना छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ, हावाहुरी र मध्यम वर्षा हुन सक्ने तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सावधानी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्राधिकरणका आठबुँदे सुझाव
सम्भावित चक्रवातबाट हुन सक्ने जनधनको क्षति कम गर्न प्राधिकरणले निम्न उपाय अपनाउन अनुरोध गरेको छ।
१. कृषि कार्य समयमै सम्पन्न गर्ने: धान काट्ने र भित्र्याउनेलगायतका कृषि गतिविधि कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न तथा आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
२. उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा नगर्ने: पर्यटकलाई जोखिमयुक्त उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान भनिएको छ। त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकले मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्नुपर्नेछ।
३. आवश्यकताअनुसार यातायात रोक्ने: जोखिमको अवस्था हेरी सवारी आवागमन बन्द गर्न सकिने व्यवस्था मिलाउन र त्यसअघि नै सर्वसाधारणलाई जानकारी दिन प्राधिकरणले सुझाव दिएको छ।
४. अनावश्यक यात्राबाट जोगिने: सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ।
५. सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने: संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले जोखिमबारे नागरिकलाई जानकारी गराउँदै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्नेछ।
६. जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने: जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचना तथा चेतावनीका आधारमा जोखिममा रहेका व्यक्ति र परिवारलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेछ।
७. आधिकारिक सूचना पालना गर्ने: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत आधिकारिक निकायबाट जारी हुने मौसम पूर्वानुमान, सूचना र चेतावनीलाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।
८. आवश्यक परे सम्पर्क नम्बरमा फोन गर्ने: मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्रमुख नदीमा जलसतह बढ्न सक्ने चेतावनी
चक्रवातको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ। वर्षाका कारण ती नदी तथा आसपासका क्षेत्रमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार र बाढीको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले जारी गर्ने पछिल्लो मौसम पूर्वानुमान र विपद्सम्बन्धी सूचनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
