टिकटकसँगको सहकार्यमा विश्व बजारमा नेपालको पर्यटन प्रवर्द्धन
काठमाडौं — नेपालका पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड र टिकटकबीचको सहकार्यमा #VisitNepal अभियान सुरु गरिएको छ।
६ नोभेम्बर २०२६ मा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकको ठूलो अन्तर्राष्ट्रिय दर्शक समूहलाई उपयोग गर्दै नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, कला र विविध पर्यटकीय अनुभवलाई विश्व बजारसम्म पुर्याउने अभियानको लक्ष्य छ।
अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याइएको छ। उनीहरूले ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म नेपालका विभिन्न क्षेत्रको भ्रमण गरी आफ्नो यात्रा अनुभव टिकटकमार्फत विश्वभरका दर्शकसँग साझा गरिरहेका छन्।
चर्चितसँगै ओझेलका गन्तव्य पनि विश्वमाझ
अन्तर्राष्ट्रिय क्रिएटरको भ्रमणबाट नेपालका स्थापित पर्यटकीय गन्तव्यसँगै कम चिनिएका तथा सम्भावनायुक्त स्थानसमेत अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।
पर्यटनसम्बन्धी सामग्रीको पहुँच विस्तार गर्न टिकटकले छुट्टै #VisitNepal ह्यासट्याग पेज समेत सञ्चालनमा ल्याएको छ। यसमार्फत नेपालसम्बन्धी भिडियो तथा अन्य सामग्रीलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने प्रयास गरिएको छ।
नेपाल पर्यटन बोर्डले टिकटकको ‘कोल्याब’ फिचर प्रयोग गर्दै नेपाली सेलिब्रेटी र स्थानीय क्रिएटरसँग समेत सहकार्य गरिरहेको छ। यसबाट विदेशी दर्शकलाई नेपालको पर्यटन स्थानीय दृष्टिकोणबाट बुझाउने प्रयास गरिएको छ।
पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारण
अभियानको अर्को आकर्षण विभिन्न पर्यटकीय गन्तव्यबाट सञ्चालन हुने लाइभस्ट्रिम हो। यसमार्फत विश्वका विभिन्न स्थानमा रहेका दर्शकले भर्चुअल रूपमा नेपालको पर्यटकीय वातावरण हेर्न र आफूले भविष्यमा भ्रमण गर्न चाहेका गन्तव्यबारे जानकारी लिन सक्नेछन्।
#VisitNepal अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने बताइएको छ।
पर्यटनसँगै स्थानीय अवसर सिर्जना गर्ने लक्ष्य
टिकटक र पर्यटन बोर्डको सहकार्यलाई पर्यटन प्रचारमा मात्र सीमित नराखी स्थानीय कलाकर्मी, कन्टेन्ट क्रिएटर, पर्यटन उद्यमी तथा समुदायका लागि नयाँ अवसर सिर्जना गर्ने पहलका रूपमा अघि बढाइएको छ।
यसअघि पनि टिकटक र पर्यटन बोर्डको सहकार्यमा डिजिटल स्टोरीटेलिङसम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा क्रिएटरलाई तालिम दिइएको थियो।
यसपटकको अभियानले सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम, पर्यटन व्यवसायी र क्रिएटर समुदायलाई डिजिटल माध्यमबाट जोडेर नेपालको पर्यटनलाई दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य लिएको छ।
‘डिजिटल कथाले यात्राका लागि प्रेरित गर्न सक्छ’
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यबारे जानकारी प्राप्त गर्ने परम्परागत शैली परिवर्तन गरेको बताए।
उनका अनुसार विश्वको एउटा कुनामा तयार भएको पर्यटनसम्बन्धी सामग्रीले अर्को कुनामा रहेका मानिसलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सक्छ। त्यसैले टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो।
टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले पनि डिजिटल सामग्रीले मानिसलाई नयाँ गन्तव्यबारे जानकारी गराउनुका साथै भ्रमणका लागि प्रेरित गर्ने बताए।
नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यबाट नेपालको पर्यटन सम्भावनालाई विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्य रहेको उनको भनाइ थियो।
डिजिटल माध्यमको बढ्दो प्रभावलाई पर्यटन प्रवर्द्धनसँग जोड्दै सुरु गरिएको यो अभियानले नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
