थानीमाई मन्दिरमा एकै दिन ९१ डोली, धार्मिक पर्यटनको आकर्षण बढ्दो
तनहुँ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि पहिचान बनाउँदै गएको छ। मन्दिरमा हुने विशेष धार्मिक गतिविधि, सांस्कृतिक झाँकी र डाँडाबाट देखिने मनोरम दृश्यले यहाँ धार्मिक पर्यटक तथा आन्तरिक घुमन्तेको आकर्षण बढाउन सक्ने सम्भावना देखिएको छ।
कात्तिक महिनाका दुई मङ्गलबारमा मात्रै थानीमाई मन्दिरमा ९३ वटा फूलको डोली चढाइएको छ। त्यसमध्ये कात्तिकको तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएका थिए। मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त अवधिमा १० हजारभन्दा बढी भक्तजन मन्दिर पुगेका थिए।
डोली चढाउने विशेष दिनमा देशका विभिन्न स्थानबाट भक्तजन बसन्तपुर पुग्ने गरेका छन्। यसले मन्दिरलाई धार्मिक गन्तव्यका रूपमा मात्र नभई स्थानीय संस्कृति र परम्परा अनुभव गर्न सकिने स्थलका रूपमा समेत स्थापित गर्ने आधार तयार गरेको छ।
धार्मिक संस्कृतिले बढाएको आकर्षण
थानीमाई मन्दिरको प्रमुख आकर्षणमध्ये फूलको डोली चढाउने परम्परा हो। वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा डोली चढाउने गरिन्छ।
मनोकामना पूरा हुने विश्वासका कारण भक्तजनले भाकल गरी फूल, तोरणलगायत सामग्रीबाट डोली तयार पार्छन्। सोमबार सत्यनारायण पूजा गरेपछि तयार गरिएको डोली मंगलबार बिहान मन्दिरमा लगेर चढाउने परम्परा छ।
डोलीसहित मन्दिर पुगेका भक्तजन पञ्चैबाजाको तालमा नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन्। ध्वजापताका, फूलका माला, पञ्चैबाजा र भक्तजनको उत्साहले मन्दिर परिसरमा सांस्कृतिक उत्सवको वातावरण सिर्जना हुन्छ।
पर्यटनका दृष्टिले यस्ता मौलिक परम्परा आगन्तुकका लागि थप आकर्षण बन्न सक्छन्। धार्मिक अनुष्ठानसँग जोडिएको स्थानीय संगीत, नृत्य र संस्कृतिले थानीमाईलाई अन्य सामान्य धार्मिक स्थलभन्दा फरक पहिचान दिन सक्ने देखिन्छ।
डाँडाबाट देखिन्छ गोरखा र लमजुङसम्मको दृश्य
समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा रहेको थानीमाई मन्दिरको अर्को विशेषता यहाँबाट देखिने प्राकृतिक दृश्य हो।
मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार तथा लमजुङको राइनासकोटलगायत आसपासका भूभागको दृश्यावलोकन गर्न सकिन्छ। मौसम सफा भएका बेला टाढाका हिमशृङ्खला पनि देखिने भएकाले प्रकृति र दृश्यावलोकनमा रुचि राख्ने पर्यटकका लागि यो स्थान आकर्षक बन्न सक्छ।
यसकारण थानीमाईको यात्रा धार्मिक दर्शनमा मात्र सीमित नराखी धार्मिक पर्यटन, प्रकृति अवलोकन र सांस्कृतिक अनुभवलाई जोडेर विकास गर्न सकिने सम्भावना छ।
स्थानीय अर्थतन्त्रमा पर्यटनको प्रभाव
मन्दिरमा विशेष दिनमा हजारौँ भक्तजन पुग्दा यसको प्रत्यक्ष प्रभाव स्थानीय व्यवसायमा समेत पर्न सक्छ। यातायात, होटल तथा खाजा पसल, स्थानीय उत्पादन, फूल तथा पूजासामग्री बिक्रीजस्ता गतिविधिले स्थानीय बासिन्दालाई आम्दानीको अवसर दिन सक्छन्।
विशेष गरी फूलको डोली चढाउने मङ्गलबारलाई केन्द्रित गरेर स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन गर्न सके धार्मिक पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावना छ।
थानीमाईलाई आसपासका अन्य पर्यटकीय तथा ऐतिहासिक स्थलसँग जोडेर एकदिने वा बहुदिने पर्यटन मार्ग निर्माण गर्न सके यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुन सक्छ।
इतिहास र किंवदन्तीले थपेको महत्व
थानीमाई मन्दिर स्थानीय इतिहास र जनश्रुतिसँग पनि जोडिएको छ। स्थानीयवासीका अनुसार विसं १८२५ तिर यस क्षेत्रमा एक भोटीनी आमा र उनकी छोरी पुगेका थिए। ठूलो हावाहुरी चलेपछि उनीहरू रुखमुनि ओत लागेका र त्यसपछि त्यहीँबाट अन्तध्र्यान भएको जनविश्वास छ।
त्यस घटनापछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयको भनाइ छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यही किंवदन्तीले मन्दिरको सांस्कृतिक र धार्मिक महत्वलाई थप बलियो बनाएको छ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको मन्दिर पुनर्निर्माण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख रुपैयाँ तथा मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित ६ लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो।
धार्मिक गन्तव्यबाट पर्यटन केन्द्रसम्मको सम्भावना
थानीमाईमा देखिने भक्तजनको चाप र मौलिक धार्मिक गतिविधिले यसको पर्यटन सम्भावना स्पष्ट पार्छ। अब मन्दिरसम्मको पहुँच, पदमार्ग, सरसफाइ, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र र स्थानीय आवासजस्ता पूर्वाधार व्यवस्थित गर्न सके आगन्तुकको अनुभव अझ राम्रो बनाउन सकिन्छ।
त्यससँगै फूलको डोली चढाउने परम्परा, पञ्चैबाजा, स्थानीय किंवदन्ती र डाँडाबाट देखिने प्राकृतिक दृश्यलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सके थानीमाई तनहुँको धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ।
