पुलको ढिलाइले मुस्ताङको पर्यटनमा असर, सात वर्षदेखि लेते–धम्पु जोडिन सकेन
मुस्ताङ — हिमाली पर्यटनका लागि चर्चित मुस्ताङमा पर्यटकीय गन्तव्यसम्मको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको लेते–धम्पु मोटरेबल पुल सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल लामो समयदेखि अलपत्र पर्दा स्थानीय बस्ती मात्र होइन, यस क्षेत्रको पर्यटन आवागमनमा समेत प्रत्यक्ष असर परेको छ।
थासाङ गाउँपालिकाका वडा नम्बर २, ३ र ५ लाई जोड्ने गरी निर्माण भइरहेको पुलले बेनी–जोमसोम सडकबाट नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत क्षेत्रलाई सहज रूपमा जोड्ने अपेक्षा गरिएको छ। यी क्षेत्र मुस्ताङको ग्रामीण जीवन, प्राकृतिक दृश्य, हिमाली भू-दृश्य र स्थानीय संस्कृति अनुभव गर्न चाहने पर्यटकका लागि थप गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन्।
पुल निर्माणका लागि २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग रु. ५ करोड ५ लाखमा ठेक्का सम्झौता भएको थियो। पाँचपटक म्याद थपिए पनि काम अझै पूरा हुन सकेको छैन। पछिल्लो १० महिनादेखि निर्माण कार्यसमेत ठप्प रहेको बताइएको छ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार पुलको हालसम्म ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पछिल्लो म्याद कायम गरिएको छ।
३५ मिटर लामो र फुटपाथसहित ८.४ मिटर चौडा पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सकिएको छ। अब स्ल्याब ढलान, एप्रोज सडक, फिनिसिङ तथा अन्य संरचनात्मक काम पूरा गर्न बाँकी छ।
कालीगण्डकी नदीपारिका बस्ती जोड्ने कालोपत्र सडक भने निर्माण सम्पन्न भइसकेको छ। तर पुल सञ्चालनमा नआउँदा सडक पूर्वाधारको पूर्ण उपयोग हुन सकेको छैन। यसले स्थानीय उत्पादनको बजार पहुँचसँगै ग्रामीण पर्यटन विस्तारमा पनि अवरोध सिर्जना गरेको स्थानीयको भनाइ छ।
पुल निर्माण पूरा भएमा पर्यटकका लागि मुस्ताङका मुख्य राजमार्गसँग जोडिएका नयाँ ग्रामीण गन्तव्यसम्म पुग्न सहज हुनेछ। स्थानीय गाउँ, कृषि, प्राकृतिक दृश्य, धार्मिक तथा सांस्कृतिक स्थललाई पर्यटनसँग जोडेर होमस्टे, स्थानीय उत्पादन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्नसमेत यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटनको दृष्टिले हेर्दा पुल केवल आवतजावतको संरचना नभई मुस्ताङका नयाँ गन्तव्यलाई पर्यटक बजारसँग जोड्ने पूर्वाधार पनि हो। त्यसैले निर्माणमा भइरहेको ढिलाइ अन्त्य गरी पुललाई शीघ्र सञ्चालनमा ल्याउन सके थासाङ क्षेत्रमा पर्यटनको दायरा विस्तार हुने र स्थानीय अर्थतन्त्रमा समेत थप गतिविधि बढ्ने सम्भावना छ।
