भारतीय पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीदेखि पर्यटन सहकार्यसम्म नेपालकाे पहल
नयाँदिल्ली । नेपालले भारतीय पर्यटक आगमन बढाउने रणनीतिसहित भारतसँग पर्यटन तथा हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले दुई देशबीचको पर्यटन साझेदारीलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गको पहुँच सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
नयाँदिल्लीमा नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको संयुक्त आयोजनामा भएको ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटनसँग जोडेर आर्थिक अवसर विस्तार गर्न सकिने बताए।
उनले भारतीय पर्यटकका लागि नेपाल सहज, सुरक्षित र आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै धार्मिक, आध्यात्मिक, प्राकृतिक, साहसिक, सांस्कृतिक तथा वेलनेस पर्यटनका क्षेत्रमा भारतबाट आउने पर्यटकका लागि ठूलो सम्भावना रहेको बताए।
मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनसँगै दुई देशबीचको हवाई सम्पर्क विस्तार, आवागमनलाई थप सहज बनाउने व्यवस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे। उनका अनुसार सहज कनेक्टिभिटीले भारतीय पर्यटकको नेपाल भ्रमण बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यसै क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रमा सहकार्य विस्तार, कनेक्टिभिटी सुधार तथा दुई देशबीचको पर्यटन आवागमन बढाउने विषयमा छलफल भएको बताइएको छ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत तथा उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजसहित सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
भारतका पर्यटनमन्त्री शेखावतले नेपाल–भारतबीचको पर्यटन तथा साझा सांस्कृतिक सम्बन्धको महत्व औँल्याए। उत्तराखण्डका पर्यटनमन्त्री महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य थप विस्तार गर्न सकिने धारणा राखे।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै मुलुक पर्यटक स्वागतका लागि तयार रहेको सन्देश दिए। उनले नेपालका धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक तथा वेलनेस पर्यटनका विविध गन्तव्य र सम्भावना भारतीय पर्यटन बजारमा प्रस्तुत गरे।
कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायतका प्रतिनिधिको सहभागिताले दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य र व्यावसायिक साझेदारी विस्तारको सम्भावना पनि बढाएको छ।
नेपालले भारतलाई प्रमुख पर्यटन बजारका रूपमा हेर्दै आएको अवस्थामा ‘नेपाल कलिङ’ अभियानमार्फत धार्मिक तथा सांस्कृतिक निकटतालाई पर्यटनमा रूपान्तरण गर्ने र हवाई कनेक्टिभिटीमार्फत पर्यटक आवागमन थप सहज बनाउने प्रयासलाई प्राथमिकतामा राखिएको देखिएको छ।
