दशौँ राष्ट्रिय खेलकुदका प्रतियोगिता कुर्दै बाँके र बर्दिया
बाँके — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार विधा बाँके र बर्दियामा आयोजना हुने भएपछि पश्चिम नेपालको पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ। खेलाडी, प्रशिक्षक, पदाधिकारी र दर्शकको आगमनसँगै नेपालगन्ज, भुरीगाउँ र गुलरियाका होटल, यातायात तथा अन्य पर्यटन व्यवसायले लाभ लिन सक्ने देखिएको छ।
कर्णाली प्रदेशलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन हुने प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशमा आयोजना हुँदैछन्। बाँकेको नेपालगन्जमा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँमा खोखो र गुलरियामा टेनिस प्रतियोगिता सञ्चालन हुनेछन्।
प्रतियोगितालाई लक्षित गर्दै नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरी तथा बर्दियाका खेलस्थलको मर्मत, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ। नेपालगन्जको पौडी पोखरीमा टायल परिवर्तन र रङरोगनको काम अन्तिम चरणमा पुगेको छ भने सुटिङ रेन्जका बिग्रिएका उपकरण मर्मतका लागि आवश्यक पाटपूर्जा ल्याउने काम भइरहेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–भुरीगाउँस्थित खोखो कभर्ड हल पनि प्रतियोगिताका लागि तयार पारिएको छ। म्याटसहितको सुविधायुक्त हलमा आवश्यक मर्मत तथा रङरोगन सम्पन्न गरिएको छ। गुलरियामा हुने टेनिस प्रतियोगिताका लागि समेत पूर्वाधार व्यवस्थापन अघि बढाइएको छ।
दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
खेलकुद प्रतियोगिताले प्रत्यक्ष रूपमा खेलाडी र खेल पदाधिकारीलाई मात्रै आकर्षित गर्दैन। प्रतियोगिता अवधिमा आउने आगन्तुकलाई बाँके र बर्दियाका पर्यटकीय तथा सांस्कृतिक गन्तव्यतर्फ आकर्षित गर्न सके यसलाई खेल पर्यटनको अवसरका रूपमा उपयोग गर्न सकिने देखिन्छ।
नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र भएकाले यहाँ आउने खेलाडी र दर्शकलाई बाँकेका धार्मिक तथा सांस्कृतिक स्थलसँगै बर्दियाको वन्यजन्तु पर्यटनसम्म पुर्याउन सकिने सम्भावना छ। विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज, थारू संस्कृति, स्थानीय खानपान र ग्रामीण जीवनशैलीलाई खेल पर्यटनसँग जोड्न सके आगन्तुकको बसाइ लम्ब्याउन सकिने देखिन्छ।
भुरीगाउँमा खोखो प्रतियोगिता मंसिर १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। खेलका लागि विभिन्न प्रदेश तथा विभागीय टोली तयार भइसकेका छन्। यस अवधिमा खेलाडी र खेलप्रेमीको आवागमनले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा साना व्यवसायमा आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
स्थानीय तह तथा पर्यटन व्यवसायीले प्रतियोगितालाई केवल खेल आयोजनामा सीमित नराखी खेलसँगै पर्यटन प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्न सके बाँके–बर्दियाको पर्यटन बजारलाई नयाँ गन्तव्यसम्म विस्तार गर्न सक्नेछन्।
राष्ट्रिय खेलकुदका खेलहरू सकिएपछि पनि निर्माण तथा सुधार गरिएका खेल पूर्वाधारलाई नियमित रूपमा प्रयोग गर्न सके स्थानीय खेल गतिविधि बढ्नुका साथै बाह्य प्रतियोगिता, प्रशिक्षण शिविर र खेलसम्बन्धी कार्यक्रम आकर्षित गर्ने आधार बन्न सक्छ। यसले पश्चिम नेपालमा खेल पर्यटनको नयाँ सम्भावना विकास गर्न सक्ने देखिन्छ।
