रिभानबाट खुल्दैछ पोखराको नयाँ साहसिक पर्यटन गन्तव्य, प्याराग्लाइडिङ स्कुल सञ्चालनमा
कास्की — पोखराको साहसिक पर्यटनलाई नयाँ क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल सञ्चालनमा आएको छ। मैँचेडाँडाबाट हिमाल र पोखरा उपत्यकाको दृश्य नियाल्दै आकाशमा उड्ने अवसरसँगै रिभानलाई नयाँ प्याराग्लाइडिङ गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढेको हो।
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको करिब तीन दशकपछि जिल्लामै पहिलोपटक दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण केन्द्र स्थापना गरिएको हो। एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याएको हो।
रु. १ करोड ५० लाख लगानीमा स्थापना गरिएको केन्द्रबाट प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गरिनेछ। एकपटकमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था गरिएको छ।
हिमालको काखबाट उडान
समुद्री सतहबाट करिब १ हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिएको छ। यहाँबाट उडान भरेर मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।
उडानका क्रममा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै लाहाचोक, ल्वाङ, अस्ताम र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने भएकाले रिभान साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने देखिएको छ।
यसले पोखराको प्याराग्लाइडिङलाई सराङकोटमा मात्र सीमित नराखी आसपासका ग्रामीण क्षेत्रमा विस्तार गर्ने सम्भावना पनि बढाएको छ। नयाँ उडानस्थलसँगै स्थानीय संस्कृति, पदयात्रा, होमस्टे र ग्रामीण जीवनशैलीलाई जोड्न सके पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने स्थानीयको अपेक्षा छ।
विदेशी पर्यटकलाई प्रशिक्षणको अवसर
पोखरामा हाल ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेको र करिब ४०० जनाले पाइलट लाइसेन्स लिएको तथ्याङ्क छ। तीमध्ये करिब २५० जना विभिन्न कम्पनीमा कार्यरत छन्।
पर्यटन व्यवसायीका अनुसार नियमित रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सके प्याराग्लाइडिङ व्यवसायलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्नेछ। प्रशिक्षण स्कुल सञ्चालन भएपछि विदेशी पर्यटक तथा प्याराग्लाइडिङमा रुचि राख्ने अन्तर्राष्ट्रिय खेलाडीलाई समेत नेपालमै प्रशिक्षण लिन आकर्षित गर्न सकिने सम्भावना छ।
रिभानको पर्यटनमा नयाँ सम्भावना
पदयात्रा मार्गका रूपमा विगतमा परिचित रिभान पछिल्लो समय पर्यटकीय गतिविधिका हिसाबले केही ओझेलमा परेको स्थानीय बताउँछन्। प्याराग्लाइडिङ स्कुल सञ्चालनले भने गाउँमा नयाँ पर्यटन गतिविधि भित्र्याउने अपेक्षा गरिएको छ।
स्थानीय तहले प्याराग्लाइडिङसँगै पदयात्रा मार्ग, सहिद पार्क, ग्रामीण बस्ती र स्थानीय संस्कृतिलाई एउटै पर्यटन प्याकेजमा जोड्ने योजना अघि बढाउन सके रिभानलाई बहुआयामिक गन्तव्य बनाउन सकिने देखिन्छ।
स्थानीयका अनुसार ओदाने हुँदै खुमैसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गर्न सके प्याराग्लाइडिङ, पदयात्रा र हिमाली दृश्यावलोकनलाई एकैपटक जोड्न सकिनेछ।
गाउँमै रोजगारीको आशा
प्याराग्लाइडिङको नयाँ गतिविधिले पर्यटक आगमनसँगै होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, गाइड तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट गाउँमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना हुन सक्ने स्थानीयको विश्वास छ।
विशेषगरी रोजगारीका लागि गाउँबाट बाहिरिएका युवालाई पर्यटन व्यवसायमार्फत आफ्नै क्षेत्रमा फर्काउने आधार बन्न सक्ने स्थानीयको अपेक्षा छ।
पोखराबाट करिब एक घण्टाको जीप यात्रामा पुग्न सकिने मैँचेडाँडा लाहाचोकको पातीखोलाबाट उकालो लागेपछि पुगिन्छ। डाँडाबाट देखिने हिमाल, पहाड, गाउँबस्ती र पोखरा उपत्यकाको मनोरम दृश्यले रिभानलाई साहसिक पर्यटनसँगै दृश्यावलोकनका लागि पनि सम्भावनायुक्त गन्तव्य बनाएको छ।
प्याराग्लाइडिङ स्कुलको सुरुवातसँगै रिभानले पोखराको स्थापित साहसिक पर्यटन बजारमा नयाँ विकल्प थप्ने सम्भावना देखिएको छ। अब आवश्यक पूर्वाधार, प्रचारप्रसार र स्थानीय पर्यटन सेवाको विकास गर्न सके माछापुच्छ्रे क्षेत्रलाई साहसिक तथा ग्रामीण पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न सकिनेछ।
