गोसाइँकुण्डमा बढ्दै पदयात्राको आकर्षण, वर्षभरि पर्यटक
रसुवा — हिमाली प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम मानिने रसुवाको गोसाइँकुण्ड पछिल्लो समय कुनै विशेष पर्वको गन्तव्यमा मात्र सीमित नरही वर्षभरि पदयात्री पुग्ने प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको छ।
समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा पछिल्ला वर्षहरूमा आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। पदमार्गमा होटल तथा लजको विस्तार र सडक पहुँचमा भएको सुधारले पर्यटकलाई यात्रा गर्न थप सहज बनाएको छ।
काठमाडौँबाट रसुवाको धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने भएपछि त्यहाँबाट करिब दुई दिनको पैदल यात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ। सुन्दरीजल तथा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गले पनि यस क्षेत्रको पदयात्रालाई विविध बनाएको छ।
स्थानीय होटल व्यवसायीहरूका अनुसार पहिले जनैपूर्णिमा, गङ्गादशहरा लगायतका धार्मिक पर्वमा मात्रै यात्रुको चाप बढ्ने गरे पनि अहिले सामान्य समयमा समेत पदयात्री आउने गरेका छन्। धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य दिनमा करिब एक सय पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् भने विशेष समयमा यो सङ्ख्या अझ बढ्ने गरेको छ।
प्राकृतिक दृश्यले थप्छ यात्राको आकर्षण
गोसाइँकुण्ड पुग्ने यात्रामा धार्मिक आस्थासँगै प्राकृतिक अनुभव पनि प्रमुख आकर्षण बनेको छ। धैबुङको स्थानीय परिकार दहीचिउरादेखि धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक वातावरण हुँदै उच्च हिमाली क्षेत्रमा पुग्ने यात्राले पर्यटकलाई फरक अनुभव दिने गरेको व्यवसायीहरू बताउँछन्।
पदमार्गमा बसोबास र खानपानको सुविधा विस्तार हुँदै गएपछि लामो दूरीको पदयात्राका लागि पनि पर्यटक आकर्षित हुन थालेका छन्। यसले स्थानीय होटल, लज तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ।
गत भदौ १० गते आएको बाढीका कारण सडक तथा केही संरचनामा क्षति पुगेपछि केही समय पर्यटन गतिविधि प्रभावित भए पनि अहिले आवागमन र व्यवसाय क्रमशः सामान्य अवस्थामा फर्किएको व्यवसायीहरूको भनाइ छ।
धार्मिक आस्थाको केन्द्र
गोसाइँकुण्डलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिकस्थलका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि भगवान् शिवले त्यसको जलन शान्त पार्न त्रिशूल प्रहार गरी पानी निकालेको र त्यही जलबाट गोसाइँकुण्ड बनेको विश्वास छ।
गोसाइँकुण्डमा स्नान तथा पूजाआराधना गर्दा पाप तथा रोगव्याधि नष्ट हुने र सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु यहाँ पुग्ने गरेका छन्।
यात्रुहरूले यात्रा सुरु गर्नुअघि कुलदेवताको पूजा गर्ने, वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने र पदयात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै लौरीविनायक क्षेत्र पार गर्ने धार्मिक परम्परासमेत रहँदै आएको छ।
इतिहाससँग जोडिएको गन्तव्य
गोसाइँकुण्डको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन। नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिप्रति असन्तुष्ट बनेका राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थान क्षेत्रमा अन्तिम समय बिताएको ऐतिहासिक विवरण पाइन्छ। कुण्डको दक्षिणतर्फ रहेको गुफासँग उनको अन्तिम समय जोडिएको स्थानीय बताउँछन्।
यसरी धार्मिक विश्वास, ऐतिहासिक विरासत र हिमाली प्रकृतिको संयोजनले गोसाइँकुण्डलाई अन्य पदयात्रा गन्तव्यभन्दा फरक पहिचान दिएको छ।
उच्च उचाइमा सावधानी आवश्यक
वर्षभरि पदयात्रा सम्भव भए पनि गोसाइँकुण्ड उच्च हिमाली क्षेत्रमा रहेकाले यात्रुले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ। लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति कम हुँदै जाने र अक्सिजनको मात्रा घट्ने भएकाले उचाइका कारण समस्या आउन सक्ने जोखिम हुन्छ।
पर्यटक तथा श्रद्धालुलाई पर्याप्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, आवश्यक औषधि साथमा राख्न र शरीरले उचाइसँग अनुकूलन गर्न पर्याप्त समय दिन स्थानीयले सुझाव दिने गरेका छन्।
वार्षिक १० हजारभन्दा बढी भक्तजन तथा पदयात्री पुग्ने गोसाइँकुण्डलाई व्यवस्थित पूर्वाधार, सुरक्षित पदमार्ग, गुणस्तरीय आवास तथा पर्यावरणमैत्री पर्यटनसँग जोड्न सके रसुवाको मात्रै नभई नेपालको महत्वपूर्ण वर्षभरि चल्ने हिमाली पर्यटन गन्तव्यका रूपमा अझ स्थापित गर्न सकिने सम्भावना छ।
