भारतमा बालेनलाई राज्यमन्त्रीको स्वागत, नेपाली प्रधानमन्त्रीलाई विगतमा कसले गरेका थिए स्वागत?
तस्बिर: प्रवीण रानाभाट/नेपाल फोटो लाइब्रेरी
काठमाडौं — प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका शाहलाई विमानस्थलमै भारतीय सरकारका राज्यमन्त्रीले स्वागत गरेपछि विगतमा नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कसरी स्वागत हुन्थ्यो भन्ने विषय पनि चर्चामा आएको छ।
विदेशी सरकार प्रमुखलाई विमानस्थलमा स्वागत गर्न जाने भारतीय पदाधिकारीको तहलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस्तो स्वागतले भ्रमणको राजनीतिक महत्त्व र दुई देशबीचको सम्बन्धको अवस्थाबारे संकेतसमेत दिने गर्छ।
नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न विगतमा भारतीय प्रधानमन्त्रीदेखि गृहमन्त्री, विदेशमन्त्री, राज्यमन्त्री तथा विदेश मन्त्रालयका उच्च अधिकारीसम्म विमानस्थल पुगेका उदाहरण छन्।
कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नै विमानस्थल पुगे
२०६२/६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैं विमानस्थल पुगेका थिए।
सन् २००६ जुन ६ मा चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका कोइरालालाई सिंहले विमानको एरोब्रिजसम्म पुगेर स्वागत गरेका थिए।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य भई प्रतिनिधिसभा पुनर्स्थापना भएको राजनीतिक परिवेशमा कोइराला भारतको पहिलो विदेश भ्रमणमा निस्किएका थिए। त्यसैले सिंह स्वयं विमानस्थल पुगेर गरेको स्वागतलाई नेपालको राजनीतिक परिवर्तनप्रति भारतले दिएको महत्त्वका रूपमा पनि हेरिएको थियो।
त्यसपछि सन् २००८ सेप्टेम्बरमा भारत पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय गृह राज्यमन्त्री शकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए।
सन् २००९ अगस्टमा भारत भ्रमणमा गएका प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन्। यसअघि सन् २००२ मार्चमा भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई वाणिज्य राज्यमन्त्री राजीव प्रताप रूडीले विमानस्थलमा स्वागत गरेका थिए।
बाबुराम भट्टराईको भ्रमणमा मन्त्री नै पुगेनन्
नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा सबैभन्दा फरक देखिएको एउटा उदाहरण बाबुराम भट्टराईको भ्रमणलाई मानिन्छ।
सन् २०११ अक्टोबर २० मा चारदिने औपचारिक भ्रमणका लागि भारत पुगेका भट्टराईलाई स्वागत गर्न भारतीय सरकारका कुनै मन्त्री विमानस्थल पुगेनन्।
भारतीय विदेश मन्त्रालयकी तत्कालीन शिष्टाचार प्रमुख रूचिरा कम्बोज, नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद तथा विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले उनलाई स्वागत गरेका थिए।
मन्त्रीस्तरका अधिकारी स्वागतमा नपुगेको विषय त्यतिबेला कूटनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो। भारतीय सञ्चारमाध्यमले समेत यसलाई कूटनीतिक शिष्टाचारसँग जोडेर समाचार बनाएका थिए।
यद्यपि स्वागत गर्ने अधिकारीको तहले मात्र भ्रमणको महत्त्व निर्धारण गर्दैन। भट्टराईको भ्रमणकै क्रममा नेपाल र भारतबीच द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) मा हस्ताक्षर भएको थियो।
नाकाबन्दीपछि ओलीलाई स्वागत गर्न विदेशमन्त्री पुगिन्
सन् २०१६ फेब्रुअरीमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा नेपाल–भारत सम्बन्ध तनावपूर्ण अवस्थामा थियो।
नयाँ संविधानप्रति भारतको असन्तुष्टि र सीमा क्षेत्रमा भएको आपूर्ति अवरोधका कारण दुई देशबीचको सम्बन्धमा तिक्तता बढेको थियो। यस्तो पृष्ठभूमिमा दिल्ली पुगेका ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन्।
यसलाई दुई देशबीचको सम्बन्ध सुधारको प्रयासका रूपमा समेत हेरिएको थियो।
स्वराजले त्यसपछि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई पनि विमानस्थलमा स्वागत गरेकी थिइन्। सन् २०१६ सेप्टेम्बरमा प्रचण्ड र सन् २०१७ अगस्टमा देउवा भारत भ्रमणमा जाँदा स्वराज स्वागतका लागि पुगेकी थिइन्।
तर सन् २०१८ अप्रिलमा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारत भ्रमण गर्दा उनलाई तत्कालीन भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।
पछिल्ला भ्रमणमा राज्यमन्त्रीको जिम्मेवारी
पछिल्ला वर्षमा नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रायः राज्यमन्त्री तहका अधिकारी स्वागतका लागि विमानस्थल पुग्ने गरेका छन्।
सन् २०२२ अप्रिलमा भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।
त्यस्तै, सन् २०२३ मेमा भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
यसैक्रममा अहिले प्रधानमन्त्री बालेन शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
यसरी हेर्दा नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा स्वागतका लागि भारतीय प्रधानमन्त्री स्वयं विमानस्थल पुगेकोदेखि राज्यमन्त्री र विदेश मन्त्रालयका उच्च अधिकारीसम्मका फरक–फरक अभ्यास देखिन्छन्। स्वागतका लागि खटाइने पदाधिकारीको तह भ्रमणको औपचारिकता मात्र नभई तत्कालीन राजनीतिक तथा कूटनीतिक सन्दर्भको एउटा संकेतका रूपमा पनि हेरिने गरेको छ।
तस्बिर: प्रवीण रानाभाट/नेपाल फोटो लाइब्रेरी
