प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम सन्तानेश्वर, विकासको पर्खाइमा
नेपालगन्ज — धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम मानिने बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर पर्यटनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
नरैनापुर गाउँपालिका–५ मा रहेको मन्दिर हरियाली वनजंगल र पहाडी भू–दृश्यले घेरिएको छ। धार्मिक पर्वका अवसरमा यहाँ भक्तजनको चहलपहल बढ्ने गरे पनि नियमित रूपमा पर्यटक आकर्षित गर्ने गरी पूर्वाधार विकास हुन सकेको छैन।
शिवरात्रि, तीजलगायतका पर्वमा बाँकेका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट समेत श्रद्धालु मन्दिर पुग्ने गरेका छन्। धार्मिक महत्त्वसँगै वरपरको प्राकृतिक वातावरणले पनि यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने आधार तयार गरेको स्थानीयको भनाइ छ।
तर मन्दिरसम्म पुग्ने सडक सहज नहुनु, खानेपानी तथा शौचालयको पर्याप्त व्यवस्था नहुनु र आगन्तुकका लागि विश्रामस्थलको अभाव हुनु प्रमुख समस्या बनेका छन्।
स्थानीय युवा विनय दीक्षितका अनुसार मन्दिरको धार्मिक महत्त्व बढ्दै गए पनि त्यसअनुसार संरक्षण र पूर्वाधार विकासमा ध्यान पुग्न सकेको छैन। धार्मिक पर्यटनलाई केन्द्रमा राखेर लगानी बढाउनुपर्ने उनको भनाइ छ।
अर्का स्थानीय रामलाल यादवले धार्मिक आस्था र प्राकृतिक आकर्षणका कारण मन्दिरमा आउने भक्तजनको संख्या बढिरहेको भए पनि व्यवस्थापन पक्ष अझै कमजोर रहेको बताए। योजनाबद्ध रूपमा विकास गर्न सके सन्तानेश्वरलाई ठूलो धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ।
पर्यटन व्यवसायी श्रीराम सिग्देलले मन्दिरको धार्मिक इतिहास, प्राकृतिक वातावरण र आध्यात्मिक पक्षलाई एकीकृत गरी पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने बताए।
उनका अनुसार सडक, खानेपानी, शौचालय, विश्रामस्थललगायत आधारभूत सुविधा विस्तारसँगै मन्दिरको प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आकर्षित गर्न सकिन्छ। यसबाट स्थानीय रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुने उनको भनाइ छ।
स्थानीय रमेश मौर्यले मन्दिर परिसरको स्तरोन्नति, पहुँचमार्ग सुधार, खानेपानी तथा विश्रामस्थल निर्माणका साथै धार्मिक तथा सांस्कृतिक गतिविधिलाई नियमित रूपमा प्रवर्द्धन गर्नुपर्ने बताए।
उनका अनुसार सन्तानेश्वर धार्मिकस्थल मात्र नभई स्थानीय इतिहास, संस्कृति र प्राकृतिक सम्पदासँग जोडिएको क्षेत्र भएकाले यसको विकासले नरैनापुरको पर्यटन पहिचानलाई समेत बलियो बनाउन सक्छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताए।
सन्तानेश्वरलाई बाँकेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि प्रदेश तथा संघीय सरकारको समेत सहयोग आवश्यक रहेको बताए।
धार्मिक आस्था, प्राकृतिक शान्ति र सांस्कृतिक महत्त्वलाई पर्यटनसँग जोडेर योजनाबद्ध विकास गर्न सके सन्तानेश्वर महादेव मन्दिर नरैनापुरको मात्र नभई समग्र बाँकेको नयाँ धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ।
