१०८ फिटको विश्वशान्ति कलशले पञ्चकोटलाई नयाँ पर्यटकीय गन्तव्य बनाउँदै
बागलुङ — धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा पर्न थालेको बागलुङको पञ्चकोटमा निर्माणाधीन १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलशले यहाँको पर्यटन आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भइरहेको यो विशाल संरचनालाई धार्मिक पर्यटनसँगै गण्डकी सभ्यता, जल संरक्षण र विश्वशान्तिको सन्देशसँग जोडेर विकास गर्ने योजना छ। कलश निर्माण सम्पन्न भएपछि पञ्चकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
लामो समय बजेट अभावका कारण रोकिएको कलश निर्माण अहिले संघीय सरकारको बहुवर्षीय योजनामार्फत पुनः तीव्र गतिमा अघि बढेको छ। सहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब सात करोड रुपैयाँको लागतमा निर्माण भइरहेको संरचनाको तेस्रो तलाको ढलानको तयारी भइरहेको छ।
कलशका लागि १३ तलाको कंक्रिट संरचना निर्माण गरिनेछ। लिफ्टसहितको उक्त संरचना बाहिरबाट १०८ फिट अग्लो देखिने गरी तयार पारिने योजना छ। बाहिरी संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ भने कलशको स्वरूप तथा आन्तरिक संरचना निर्माणमा धार्मिक संघसंस्था, भक्तजन र दाताबाट सहयोग जुटाउने तयारी छ।
पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यका अनुसार एक वर्षयता बहुवर्षीय योजनाअन्तर्गत कलश निर्माणले गति लिएको हो। आगामी दुई वर्षभित्र बाहिरी संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विस्तृत परियोजना प्रतिवेदनअनुसार कलशलाई पूर्ण रूपमा निर्माण सम्पन्न गर्न ४५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ। सरकारी सहयोगसँगै महायज्ञ, भक्तजन तथा विभिन्न क्षेत्रबाट प्राप्त हुने दान र सहयोगमार्फत बाँकी निर्माण कार्य पूरा गर्ने योजना छ।
धार्मिक पर्यटनसँगै गण्डकी सभ्यताको प्रचार
पञ्चकोटमा निर्माण हुन लागेको कलशलाई केवल धार्मिक संरचनाका रूपमा मात्र नभई गण्डकी क्षेत्रको जलसम्पदा र सभ्यताको प्रतीकका रूपमा विकास गर्ने योजना बनाइएको छ। नदी तथा जलका विभिन्न स्वरूपलाई कलशसँग जोडेर जल संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।
यसले पञ्चकोट भ्रमण गर्ने पर्यटकका लागि नयाँ आकर्षण थप्नुका साथै गण्डकी नदी सभ्यता र जलसम्पदाबारे जानकारी लिने अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।
स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा पञ्चकोटलाई विश्वस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अभियान अघि बढाइएको हो। करिब १२ वर्षअघि कलश निर्माणको शिलान्यास भए पनि आर्थिक स्रोतको अभावमा लामो समयसम्म काम अघि बढ्न सकेको थिएन।
तर यस अवधिमा पञ्चकोटमा अन्य पूर्वाधार निर्माण हुँदै गएपछि यसको पर्यटकीय आकर्षण भने बढ्दै गएको छ। अहिले यहाँ दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी पुग्ने गरेका छन्।
एउटै गन्तव्यमा थपिँदै आकर्षण
पञ्चकोटमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विस्तारसँगै यहाँ आउने पर्यटकले एउटै क्षेत्रमा विभिन्न संरचना अवलोकन गर्न पाउने अवस्था बनेको छ।
हाल सुविधासम्पन्न तीनतले आवासीय भवन, गण्डकी माता मन्दिर, शिशमहल, पाँच हजार ५५५ किलोको महाघण्ट, हनुमान शिला र गरुड शिलालगायत संरचना निर्माण भइसकेका छन्।
यी संरचनासँगै १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माण पूरा भएपछि पञ्चकोटको आकर्षण अझ फराकिलो हुने अपेक्षा गरिएको छ। धार्मिक दर्शनका लागि आउने पर्यटकसँगै नयाँ संरचना अवलोकन, प्राकृतिक दृश्यावलोकन र आध्यात्मिक अनुभवका लागि आउने पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ।
कलश निर्माणले पञ्चकोटमा पर्यटकको बसाइ अवधि लम्ब्याउन तथा स्थानीयस्तरमा होटल, होमस्टे, यातायात, स्थानीय उत्पादन र अन्य पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पञ्चकोटलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने अभियानसँगै यहाँको पूर्वाधार, सेवा सुविधा र प्रचारप्रसारलाई पनि समान रूपमा अघि बढाउनुपर्ने स्थानीयको भनाइ छ। कलश निर्माण सम्पन्न भएपछि यसलाई केन्द्रमा राखेर धार्मिक तथा सांस्कृतिक पर्यटनका नयाँ प्याकेज विकास गर्न सके बागलुङको पर्यटनमा थप टेवा पुग्ने देखिन्छ।
यसरी १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश पञ्चकोटको धार्मिक आस्थाको प्रतीक मात्र नभई गण्डकी क्षेत्रको पर्यटन पहिचानलाई नयाँ उचाइ दिने प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
