अपी हिमाल : हिमाल हेर्नेदेखि स्थानीय जीवन बुझ्नेसम्मको गन्तव्य
दार्चुला — हिमालको काख, फराकिला पाटन, निला ताल, हिमनदीबाट बग्ने जलधारा र मौलिक हिमाली जीवनशैली। यी सबै विशेषतालाई एउटै यात्रामा अनुभव गर्न सकिने भएकाले दार्चुलाको अपी हिमाल क्षेत्र विस्तारै नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
सुदूरपश्चिमकै अग्लो अपी हिमालसहित नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यस क्षेत्रमा प्राकृतिक दृश्यसँगै धार्मिक, सांस्कृतिक र जैविक विविधता पनि पर्यटकका लागि आकर्षण बनेका छन्। समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको अपी हिमालको आधार शिविर करिब तीन हजार ९०० मिटरमा छ।
अपी हिमाल आधार शिविर पुग्ने यात्रा आफैँमा साहसिक पर्यटनको अनुभव हो। मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म सवारीसाधनबाट पुगेपछि करिब दुई दिन पैदल यात्रा गर्नुपर्छ। भिरालो बाटो, उकालो–ओरालो र नदी किनार हुँदै अघि बढ्दा हिमाली भूगोलको विविधता अनुभव गर्न सकिन्छ।
पदयात्रासँगै मौलिक गाउँको अनुभव
अपी हिमालको पर्यटन केवल हिमालको दृश्यमा सीमित छैन। मकरीगाडदेखि आधार शिविरसम्मको पदयात्रामा विभिन्न स्थानमा होमस्टे सञ्चालनमा छन्। धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ।
करिब ३४ किलोमिटरको पदमार्गमा तीनदेखि पाँच किलोमिटरको अन्तरमा होमस्टे राखिएकाले पदयात्रीलाई यात्राका क्रममा बास र खानाको सहजता भएको छ।
यहाँको विशेषता भनेको पर्यटकलाई दिइने स्थानीय आतिथ्य हो। फूलमालाले स्वागत गर्ने, स्थानीय नाच प्रस्तुत गर्ने र मौलिक परिकार खुवाउने अभ्यासले पर्यटकलाई हिमाली गाउँको जीवनशैली नजिकबाट बुझ्ने अवसर दिन्छ।
आधार शिविर क्षेत्रमा दैनिक करिब ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्टको व्यवस्था गरिएको छ। आफ्नै टेन्ट लिएर पुग्ने पर्यटकका लागि समेत बसोबास गर्न सकिने व्यवस्था मिलाइएको छ।
स्थानीय अर्थतन्त्रसँग जोडिँदै पर्यटन
अपी हिमाल गाउँपालिकाले पर्यटनलाई स्थानीय आम्दानी र रोजगारीको आधार बनाउने योजना अघि सारेको छ। सामुदायिक घरबास, स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खानपान सेवामा स्थानीयको सहभागिता बढाउन तालिमसमेत सञ्चालन गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। पर्यटकको संख्या बढाउन सके स्थानीय युवाका लागि रोजगारी र गाउँमै आम्दानीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
यस क्षेत्रको पर्यटनसँग स्थानीय उत्पादन र परम्परागत जीविकोपार्जनलाई पनि जोड्न सकिने सम्भावना छ। गर्मीयाममा पाटनहरू विभिन्न रङका फूलले ढाकिन्छन् भने यार्सागुम्बा, पाँचऔँले, पदमचाल, जटामसीलगायत जडीबुटी पाइन्छन्। भेडा, च्याङ्ग्रा र चौँरीपालन पनि यहाँको परम्परागत जीवनशैलीको हिस्सा हो।
प्रकृति, संस्कृति र आस्थाको संगम
कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र विशाल पाटनले अपी क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन्। प्राकृतिक सम्पदासँगै यहाँको वेशभूषा, देउडा, लोकबाजा, रीतिरिवाज तथा परम्परागत ज्ञानले सांस्कृतिक पर्यटनको सम्भावना पनि बढाएको छ।
अपी क्षेत्र धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। चमेलिया नदीलाई भगवान् शिवको शिरबाट बगेको गंगाको स्वरूप मान्ने धार्मिक विश्वास छ। सुर्मा भवानीप्रतिको आस्था, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले धार्मिक पर्यटनको सम्भावना थपेका छन्।
पर्यटन बढ्दा वातावरण संरक्षणको चुनौती
अपी हिमालमा पर्यटक बढाउने योजनासँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने चुनौती छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढ्नु, पानीका मुहान सुक्दै जानु र वर्षाको ढाँचामा परिवर्तन आउनुले हिमाली पर्यटनको भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
त्यसैले यहाँ पर्यटन पूर्वाधार निर्माण गर्दा प्रकृति र स्थानीय जीवनशैलीलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिएको छ। प्लास्टिक तथा फोहोर नियन्त्रण, हिमनदी र ताल संरक्षण, पानीका मुहान पुनर्जीवन तथा वातावरणमैत्री पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ।
अपी हिमाललाई केवल पर्यटकको संख्या बढाउने गन्तव्यका रूपमा नभई प्रकृति, संस्कृति र स्थानीय अर्थतन्त्रको संरक्षण गर्दै अघि बढाउने अवधारणा अघि सारिएको छ।
खेल पर्यटनको पनि सम्भावना
अपी हिमालमा उच्च हिमाली खेलकुदको सम्भावना पनि देखिएको छ। गाउँपालिकाले उच्च उचाइमा क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ। प्राकृतिक वातावरणसँग खेलकुदलाई जोडेर अघि बढाउन सके यस क्षेत्रले साहसिक तथा खेल पर्यटनमा समेत नयाँ पहिचान बनाउन सक्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ।
यसरी अपी हिमालमा हिमाल अवलोकन, पदयात्रा, होमस्टे, धार्मिक स्थल, स्थानीय संस्कृति, जडीबुटी, हिमाली जीवनशैली र खेलकुदलाई एउटै पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना छ।
प्रकृतिको सौन्दर्यसँगै स्थानीय जीवनको आत्मीयता अनुभव गराउने गन्तव्यका रूपमा अपी हिमालले सुदूरपश्चिमको पर्यटन नक्सामा आफ्नो छुट्टै पहिचान बनाउने सम्भावना बोकेको छ।
