नेपालीले व्यवस्थापनको सोल्टीमा बिजनेश प्लान– देशभरि सञ्जाल
टुरिजमफेस ।
काठमाडौं । यतिखेर नेपालको पाँचतारे होटल सोल्टी व्यवस्थापनले देशभरि सञ्जाल विवस्तारमा ध्यान केन्द्रित गरेको छ । ५० वर्षदेखि हस्पिटालिटी क्षेत्रको सेवामा लाग्दै आइरहेको सोल्टी नेपालीको व्यवस्थापनमा चलेपछि आक्रामक सेवा विस्तारमा लागेको हो । सोल्टीले चाँडै नेपालमा एक दर्जन होटलको व्यवस्थापन सम्हाल्दै छ । मध्यम तथा उच्च वर्गका ग्राहकलाई सेवा दिने गरी स्थापित सोल्टीले यतिखेर एक दर्जन होटलको व्यवस्थापन गरिरहेको छ ।
सोल्टीले काठमाडौंबाहेक नेपालगञ्जमा पाँचतारे होटल सोल्टी सिब्क्रिम चलाइरहेको छ । त्यस्तै पोखरामा पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरिरहेको छ । यो होटल समूहकै इटहरीमा पाँचतारे होटल छ । सोल्टीको चितवनमा पनि सोल्टी वेस्टर्न होटल सञ्चालन गर्दै छ । यसले नगरकोटको तायो इको रिसोर्टको व्यवस्थापन सम्हालिइरहेको छ । सञ्चालनमा आएका, निर्माणाधीन र निर्माणको तयारीमा रहेकोसमेत गरी सोल्टी होटलसँग अहिले नै एक दर्जन वटा होटल जोडिएका छन्
लामो समय विदेशी व्यवस्थापनमा चलेको यो होटलबाट ३ वर्ष अगाडि मात्रै विदेशी व्यवस्थापन समूह बाहिरिएको थियो । साढे २ दशकभन्दा लामो समयदेखि सोल्टी होटलको व्यवस्थापन सम्हालेको वेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिए पछि नेपाली व्यवस्थापनले होटल सम्हाल्न थालेको हो । होटलले यसअघि बनाइरहेको र सम्हाल्न थालेको सबै होटल ‘दि सोल्टी काठमाडौं’को ब्राण्डमा चलाइरहेको छ । सोल्टीको व्यवस्थापनमा चलेको सबै होटलको गुणस्तर, सेवा र सुविधा सोल्टी होटलमै भए अनुसार हुने बताइएको छ । यसको सेवा र सुविधा सबै क्षेत्रमा समान हुने सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । नेपालबाहेक सोल्टीले भारतमा पनि होटल खोजिरहेको र अनुकुल होटल पाएसँगै व्यवस्थापनको जिम्मा लिने चापागाईंले बताए । सोल्टीले जनकपुर मिथिला यात्री, नगरकोटको ताओ इको रिसोर्टको व्यवस्थापन सम्हालिरहेको छ । यसले लुम्बिनी र पोखरामा पनि होटल सञ्चालन गर्दै छ । वीरगन्ज, पोखरा र धनगढीमा पनि होटलको व्यवस्थापन सम्हाल्ने गरी आवश्यक छलफल भइरहेको र त्यसका लागि तयारी हुँदै गरेको पनि होटल सोल्टीले जानकारी दिएको छ ।
नेपालमा होटल क्षेत्रमा भएको लगानी, सरकारी प्रवद्र्धन र पर्यटकीय गतिविधिमा भएको सकारात्मक बृद्धिले होटल क्षेत्रलाई उत्साहित गराइरहेको छ । सोल्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा खाना खुवाउने सोल्टी गेट गरमेटसमेत सञ्चालन गर्दै आएको छ ।
सोल्टीको व्यवस्थापन रहेका तथा व्यवस्थापनको तयारीका होटल
१. सोल्टी होटल, ताहाचल
२. सोल्टी सिब्क्रिम, नेपालगन्ज
३. सोल्टी वेस्टर्न, इटहरी
४. सोल्टी वेस्टर्न, चितवन
५. सोल्टी वेस्टर्न, धनगढी
६. सोल्टी वेस्टर्न, लुम्बिनी
७. सोल्टी वेस्टर्न, वीरगन्ज
८. सोल्टी वेस्टर्न, पोखरा
९. मिथिला यात्री, जनकपुर
१०. मनकामना सोल्टी वेस्टर्न, गोरखा
११. तायो इको रिसोर्ट, नगरकोट
१२. ठमेल हेरिटेज, काठमाडौं