भाटभटेनीको अन्नपूर्णमा प्रवेशपछि ८ अर्बमा नयाँ पाँचतारे होटल
टुरिजमफेस
काठमाडौं । भाटभटेनी सुपर मार्केटले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा लगानी गरेर नयाँ होटल निर्माण गर्ने तयारी गरेको छ । भाटभटेनीले केही समय पहिला २ अर्ब ७० करोड रुपैयाँमा अन्नपूर्णको ३० प्रतिशत सेयर खरिद गरेको थियो । ‘हामी पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्दै छौं,’ भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले टुरिजमफेसलाई बताए । उनले दुई वर्षभित्र नयाँ पाँचतारे होटल स्थापना गर्ने गरी काम अगाडि बढेको समेत बताए ।
अर्का व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा होटल निर्माण गर्न लागिएको उनको भनाइ छ । डेल अन्नपूर्णको कुल ४२ रोपनी जग्गा र अन्य संरचनाको मूल्यांकन करिब ९ अर्ब रुपैयाँ भएपछि त्यसको ३० प्रतिशत खरिद गरेको गुरुङले बताए ।
गुरुङ र श्रेष्ठको प्रवेशपछि डेल अन्नपूर्णका प्रमुख सेयरधनी कपिलसमशेर राणा, उनकी श्रीमती सृजनासँग ५५ प्रतिशत सेयर रहेको छ । नयाँ होटल बनाउन थप ८ अर्ब रुपैयाँ हाराहारी लगानी गर्ने योजना रहेको गुरुङले जानकारी दिए । त्यसका लागि नयाँ कम्पनी खडा गरिएको छ, जसमा भाटभटेनीको ६०, उमेश श्रेष्ठको २५ र डेल अन्नपूर्णको १५ प्रतिशत सेयर छ । गुरुङले डेल अन्नपूर्णको लगानी सफल भयो भने भविष्यमा अन्य पर्यटन गन्तव्यमा पनि लगानी विस्तार गर्ने सोच रहेको बताए । डेल अन्नपूर्ण कोरोना महामारी सुरु भएपछि सन् २०१९ मा बन्द गरिएको थियो । ठूलो परिमाणको ऋण भएका कारण अन्नपूर्णका सञ्चालकले ऋण चुक्ता गर्न होटलको जग्गा बिक्री गर्ने निर्णय गरेका थिए ।