थपिँदै पाँचतारे होटल, चेन होटलको पनि उस्तै आकर्षण
टुरिजमफेस
काठमाडौं । सन् २०२३ मा दुई हेरिटेज बुटिकसहित तीन होटल पाँचतारे वर्गीकरणमा परेपछि डिलक्ससहित पाँचतारे होटेलको संख्या २२ पुगेको छ । ८८ करोड रुपियाँ लगानी रहेको वर्णवास म्युजियम, काठमाडौं र १० करोड रुपियाँ लगानी रहेको स्ववेयर होटल ललितपुर हेरिटेज बुटिक होटलमा दर्ता भएको पर्यटन विभागले जनाएको छ । त्यस्तै ३ अर्ब रुपैयाँको लागतमा भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेशनल, ५४ करोड ८९ लाख रुपैयाँको लागतको होटल ल्हासा इन्टरनेसनल (दुसित प्रिन्सेस) काठमाडौं र १ अर्ब २५ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको धूमबाराहीस्थित अकामा होटल पनि पाँचतारे वर्गीकरणमा परेका छन् । त्यस्तै चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेस्टाइन, बुढानिलकण्ठ हेरिटेजलगायतका होटल पनि पाँचतारे वर्गीकरणको प्रक्रियामा छन् । यसैगरी, १ अर्ब ५० करोड रुपैयाँ लागतमा झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारे डिलक्स होटलको स्तरमा सूचीकृत छ ।
झापाको बिर्तामोडमा सञ्चालित होटल दि किङ्सवरी र काठमाडौंको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस) पाँचतारे स्तरको वर्गीकरणमा छन् । पाँचतारे अन्य होटलमा तारागाउँ रिजेन्सी (हायात रिजेन्सी), सोल्टी, मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्स (होटल अलफ्ट) छन् । डेल अन्नपूर्ण, दि मल्ल, साङ्ग्रिला, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, सेन्ट्रल प्लाजा, दि किङ्सवरी र इच्छा होटल पनि पाँचतारे वर्गीकरणमा छन् । पर्यटन विभागको नियम अनुसार काठमाडौं उपत्यकामा सञ्चालित पाँचतारे होटलमा न्यूनतम कोठा संख्या १०० वटा हुनुपर्छ । पछिल्लो समय ख्यातिप्राप्त अन्तरराष्ट्रिय चेन होटल पनि नेपालमा लगानी गर्न उत्सुक देखिएका छन् । त्यसो त यहाँका व्यवसायीहरूबीच पनि ब्रान्ड ल्याउन प्रतिस्पर्धा रहेको पाइन्छ । उता घरेलु बजारमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले पनि पहिलो पटक आतिथ्य सत्कार उद्योगमा लगानी गर्ने तयारी गरेको छ । उक्त समूहले काठमाडौंको दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी गरेर नयाँ होटल निर्माण गर्न लागेको छ । उत्पादनमूलक उद्योगमा नयाँ लगानी आउन नसकिरहेका बेला होटलमा भने ठूलो लगानी भइरहेको देखिन्छ । पर्यटन व्यवसायी रञ्जन काफ्ले अहिले काठमाडौंसहित झापा, विराटनगर, इटहरी, चितवन, पोखरा, बुटवल, भैरहवा, नेपालगन्ज, कैलालीसम्म धमाधम पाँच तारे होटल बन्ने क्रममा रहेकाले आगामी दिनमा पर्यटनको राम्रो सम्भावना रहेको बताउँछन् ।