आठ अर्ब ३५ करोडमा तयार भयो पाँचतारे होटल ‘हिल्टन काठमाडौं’
टुरिजमफेस
काठमाडौं । आठ अर्ब ३५ करोड रूपैयाँमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ तयार भएको छ । र, जुन सञ्चालनमा आएको छ । उक्त होटलमा शंकर समूहको लगानी रहेको छ । जुन होटल सन् २०१६ देखि निर्माण थालिएको थियो । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो । हिल्टन इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुविन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।
होटलको शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने प्रतिबद्धतालाई बल मिलेको उनको भनाइ छ । हिल्टन काठमाडौंको साथमा हिल्टनको विश्व स्तरीय मापदण्डसँग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरू प्रदान गर्न आफूहरू कटिवद्ध रहेको उनले बताए । शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्रान्डसँग जोडिँदै काठमाडौंको आकाशमा यो अर्को आकर्षण थप्न पाउनु सम्मानको विषय भएको बताए । काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशीला बन्न र विश्वभरका अतिथिलाई स्वागत गर्न तत्पर रहेको उनले बताए । काठमाडौंको नक्सालमा रहेको होटलमा १७२ कोठा रहेका छन् । हिल्टन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध रहेको र जहाँ स्थानीय परिकारका स्वाददेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रणको अनुभवहरू बटुल्न सकिने होटलको भनाइ छ ।