बैंकको नाफामा अझै सकस

टुरिजमफेस
काठमाडौ । कोरोना महामारीपछि बैंकहरूको नाफामा आउन थालेको गिरावट यो वर्ष पनि जारी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १० वाणिज्य बैंकहरूको नाफा घटेको छ । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा ६ वटा बैंकहरूको मात्र लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ । चार बैंकको लाभांश क्षमता छैन । लाभांश क्षमता ऋणात्मक भएका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, कुमारी र एनआईसी एशिया हुन् ।
कुन बैंकको लाभांश क्षमता कति ?
अहिले एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै छ । यस बैंकले शेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ । दोस्रो बढी लाभांश क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६.५० प्रतिशत लाभांश क्षमता रहेको छ । त्यस्तै कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत हुँदा नबिल बैंकको १४.२६, नेपाल एसबीआई बैंकको १०.७६, सानिमा बैंकको १०.४ प्रतिशत रहेको छ । प्राइम कमर्सियल बैंकको ६.१८, लक्ष्मी सनराइजको ५.५५, नेपाल बैंकको ५.२४, प्रभु बैंकको ५.२, सिटिजन्स इन्टरनेशनलको ४.३४, माछापुछ्रेको ४.०१, ग्लोबल आइएमई बैंकको ३.०६, सिद्धार्थ बैंकको २.६ र एनएमबी बैंकको १.३ प्रतिशत लाभांश क्षमता रहेको ती बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।