सरकारको निष्कर्ष : ‘नेपाली आकाश सुरक्षित छैन, सिंगो पर्यटन क्षेत्र र लगानी प्रभावित’

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एकमहिना भित्र भएका २/२ वटा हवाई दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने पुष्टि गरेको बताएका छन् ।
नयाँ सरकार गठन भएलगत्तै भएको दुई हवाई दुर्घटनाबाट विश्वमा नकारात्मक सन्देश गएको निष्कर्षसहित सरकारले आवश्यक कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता गरेको पनि उनले बताए ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै मन्त्री गुरुङले भने, ‘हिजोमात्र डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । केही दिन अघि मात्र सौर्य एयरको विमान दुर्घटना भएको थियो । यी दुई दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा पुष्टि भएको छ ।’ मन्त्री गुरुङले हिजो भएको घटनापछि सरकार अब वक्तव्य निकाल्ने र जाँचबुझ आयोग गठन गर्ने काम मात्रै गरेर नबस्ने पनि दाबी गरे ।
‘दुर्घटना हुने, छानबिन आयोग गठन हुने, रिपोर्टबारे कसैलाई मतलब नहुने । क्याबिनेटमा समेत नपुग्ने । यसकारण सरकारले के गर्ने भन्ने पनि तय हुँदैन’ उनले भने, ‘विभिन्न त्रुटिका कारण विमान दुर्घटना भएको हुने गरेको भन्दै गुरुङले सञ्चालक हो कि कानुनको कारणले हो ? वा नीति र कानुनमा कमजोरी छ ? कि जसकारण नेपाली आकाश सुरक्षित बनाउन सकेका छैनौं ।’
नयाँ सरकार आइकनै दुई दुर्घटना हुनाले नेपाली आकाश सुरक्षित नभएको र सिंगो पर्यटन र लगानीको क्षेत्र प्रभावित बनाएको उनको तर्क छ ।
‘हिजो दुर्घटनामा परेका चिनियाँ नागरिक घुम्न जानु भएको थिएन, एक प्रकारका लगानीकर्ता हुनुहुन्छ । लगानीका क्षेत्र अबलोकन गर्न जानुभएको भन्ने छ,‘ गुरुङले भने ।
सरकारले नेपाली आकाश सुरक्षित नभएको, हवाई वा हेलि सेवा सुरक्षित छैन भन्ने देखाएको बारे लामो छलफल गरेको उनले बताए ।
यस विषयलाई सम्बोधन गर्न र समग्र समस्याको समाधान गर्न नीतिगत रुपमा केके गर्नुपर्छ ? ऐन कानुनमा कहाँ त्रुटि छन् ? व्यवस्थापकीय जिम्मेवारी पाएको नियामक नेपाल नागरिका उड्डयन प्राधिकरणको कमजोरी कहाँ छ ? नियमन किन गर्न सकिरहेको छैन ? त्यसको वृहत् एप्रोचबाट समस्या पहल्यिाएर जानुपर्छ भन्ने निष्कर्ष सरकारले निश्चय गरेको गुरुङले बताए ।
नेपाली आकाश सुरक्षित बनाउन सरकारले केही न केही नीतिगत र संरचनागत विषयमा सुधारको विषयमा मन्त्रिपरिषदमा कुरा भएको पनि उनलेजानकारी दिए ।