भैरहवा र पोखराबाट वैदेशिक रोजगारका सबै सेवा
टुरिजमफेस
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल रहेका दुई सहर र भैरहवा र पोखराबाट वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा प्रदान गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविराज उप्रेतीले मन्त्रालयले सरोकारवाला संघसंस्थासँगको छलफलमा यस्तो निर्णय गरेको जानकारी दिए । यो निर्णयपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा त्यहीबाटै उपलबध हुनेछ ।
यतिखेर वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था छ । ती विमानस्थल सञ्चालनमा आएको लामो समय भएपनि वैदेशिक रोजगारीसँग सम्बन्धित काम काठमाडौंबाट हुने गरेकाले ती विमानस्थल सञ्चालनमा आउन समस्या भएको गुनासो रहँदै आएको छ । वैदेशिक रोजगारीका सबै सेवा केन्द्रिकृत हुँदा वायुसेवा कम्पनीले उडानका लागि चासो देखाइरहेका छैनन् । अर्कोतर्फ सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट पनि यी दुई विमानस्थल सञ्चालन गर्ने कार्ययोजनामा समेत पारित भएको छ । उप्रेतीले श्रम स्वीकृति लगायतका सेवाका लागि वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने छ । ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए ।