नेपाल आउने पुरुष भन्दा महिला पर्यटकको बसाइ लामो, यस्तो छ कारण
Tourist
टुरिजमफेस
काठमाडौं । नेपालमा पुरुषको दाँजोमा महिला पर्यटकको बसाइ अवधि लामो हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाइ तथा खर्च प्रवृत्ति सम्बन्धी विशेष अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन अनुसार गण्डकी प्रदेश भ्रमणमा पुगेका विदेशी पर्यटकको नेपालमा औसत बसाइ अवधि २२ दिन देखिएको छ । जसमध्ये गण्डकी प्रदेशमा मात्र औसत १२ दिन बस्ने गरेका छन् । नेपाल भ्रमण गर्ने महिला पर्यटक औसत २५ दिन र पुरुष पर्यटक औसत २० दिन बस्ने गरेको अध्ययनको निष्कर्ष छ । गण्डकी प्रदेशमा पनि पुरुषको ११ दिन र महिलाको १३ दिन बसाइ अवधि रहेको राष्ट्र बैंकले जनाएको छ । यो अध्ययनमा ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकको नेपाल बसाइ अवधि सबैभन्दा धेरै रहेको देखिन्छ । बसाइ अवधिलाई महादेश अनुसार हेर्दा ६ महादेशमध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकाबाट १९ दिन रहेको देखिन्छ ।

सबैभन्दा कम भने एसियाबाट ९ दिनमात्र बस्ने गरेको पाइएको छ । गण्डकी प्रदेशमा भेटिएका पर्यटकमध्ये मनाङमा भेटिएका पर्यटकले औसत बसाइ अवधि १८ दिन रहेको बताएका थिए । गोरखामा भेटिएका पर्यटकले भने औसत ४ दिन बसाइ अवधि रहेको बताएका छन् । राष्ट्र बैंकले कुल ४ सय पर्यटकको प्रतिक्रिया लिँदै यो अध्ययन प्रतिवेदन तयार पारेको जनाएको छ । देशभरिको बसाइ अवधि औसतमा भने सन् २०२२ सम्म १३.१ दिन रहेको पर्यटन मन्त्रालयको तथ्यांक छ । पोखरामा मात्र सबैभन्दा धेरै जर्मनीका पर्यटकले खर्च गर्ने र सबैभन्दा कम थाई पर्यटकबाट खर्च भएको देखिन्छ । उक्त प्रदेशमा पुग्ने पर्यटकमध्ये धेरै युरोपेली छन् । जसको प्रतिशत ४६.२५ प्रतिशत छ । दोस्रो स्थानमा एसियाली छन् । यो महादेशका ३५.२५ प्रतिशत छन् । उत्तर अमेरिकी ११.५ प्रतिशत छन् । यस प्रदेशमा सबैभन्दा धेरै साहसिक क्रियाकलापका लागि आउने गरेको अध्ययनले देखाएको छ । यो कुल पर्यटकको ४०.१८ प्रतिशत हो । महिलाको बसाइ धेरै रहनुमा उनीहरूलाई गण्डकी र नेपालका पर्यटकीय क्षेत्रले लोभ्याएको धेरैको अनुमान छ ।
Tourist
