ड्रोन आक्रमणपछि कुवेतमा नेपालीहरूमा बढ्यो सुरक्षा चिन्ता
काठमाडौं । कुवेतमा भएको ड्रोन आक्रमणमा एक नेपालीको ज्यान गएपछि त्यहाँ कार्यरत नेपाली समुदायमा असुरक्षाको भावना बढेको छ। सीमावर्ती क्षेत्रमा सुरक्षा जोखिम बढ्दै गएसँगै कुवेती सरकारले पनि विभिन्न सतर्कतामूलक उपाय लागू गरेको छ।
गत ३० जुलाई २०२६ मा इराक सीमासँग जोडिएको कुवेतको थाक्सी क्षेत्रमा भएको ड्रोन आक्रमणमा मोरङको रतुवामाई नगरपालिका–९ निवासी ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको थियो। सन् २०२२ देखि कुवेतमा कार्यरत तामाङ कम्पनीको सवारी चालकका रूपमा काम गर्दै आएका थिए।
घटनाका बेला उनी कम्पनीको गाडी चलाइरहेका थिए। इरानबाट प्रहार भएको भनिएको ड्रोन गाडीमा खस्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। उक्त स्थान कुवेत सिटीबाट करिब ९० किलोमिटर उत्तरतर्फ, इराक सीमाक्षेत्र नजिक पर्छ।
कुवेतस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि नेपाली समुदायमा त्रासको वातावरण बनेको छ। उनका अनुसार पहिले सम्भावित ड्रोन वा मिसाइल आक्रमणको सूचना साइरन र मोबाइल सन्देशमार्फत दिइने गरे पनि अहिले ती प्रणाली अस्थायी रूपमा रोकिएको छ, किनकि त्यसले सर्वसाधारणमा झन् आतंक फैलाएको निष्कर्ष निकालिएको छ।
सुरक्षा सतर्कता स्वरूप कुवेत सरकारले रातिको समयमा अस्पताल, होटललगायत सार्वजनिक भवनमा अत्यावश्यकबाहेकका बाहिरी बत्ती बन्द गर्न निर्देशन दिएको छ। तेल, ग्यास तथा अन्य संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था गरिएको छ भने अन्य क्षेत्रका कामदार नियमित रूपमा कार्यस्थल पुगिरहेका छन्।
यद्यपि, सम्भावित नयाँ आक्रमणको आशंकाले धेरै नेपालीसहित विदेशी श्रमिक चिन्तित रहेको पाख्रिनले बताए। सरकारले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्किन, आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेको छ।
आवश्यकताभन्दा बढी खाद्यान्न वा दैनिक उपभोग्य सामग्री सञ्चय नगर्न पनि निर्देशन दिइएको छ। विशेषगरी एकपटकमा पाँच कार्टुनभन्दा बढी खानेपानी खरिद गर्न प्रतिबन्ध लगाइएको जानकारी उनले दिए।
पाख्रिनका अनुसार पछिल्ला आक्रमणहरूमा कुवेत र जोर्डन बढी जोखिममा परेको देखिएको छ। इरानसँग स्थलमार्गबाट जोडिन सक्ने भूगोलका कारण यी मुलुकलाई सम्भावित निशानाका रूपमा हेरिएको उनको भनाइ छ।
ड्रोन आक्रमणका कारण केही क्षेत्रमा पानी तथा विद्युत् आपूर्तिमा असर परे पनि वैकल्पिक प्रणालीमार्फत सेवा सञ्चालन भइरहेको उनले बताए।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमका अनुसार मृतक सोमकुमार तामाङको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाइसकिएको छ। शवसँग सम्बन्धित सम्पूर्ण कागजात पनि नेपाल पठाइएको उनले जानकारी दिए।
सुरक्षा अवस्था संवेदनशील भइरहेकाले दूतावासले कुवेतमा रहेका नेपालीलाई स्थानीय सरकार र नेपाली दूतावासबाट जारी हुने आधिकारिक सूचना पालना गर्न, अनावश्यक यात्रा नगर्न तथा सतर्क रहन आग्रह गरेको छ।
