पर्यटक आगमन बढ्नाले होटलको नाफामा वृद्धि
टुरिजमफेस
काठमाडौं । देशभर पर्यटकीय गतिविधि बढ्न थालेपछि र बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा उल्लेख्य सुधार हुँदा पर्यटन क्षेत्रको नाफा बढेकोे छ । आर्थिक वर्ष २०८०÷८१ मा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे १८ प्रतिशतले वृद्धि भएको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत वर्ष खुद नाफा औसत १८.६७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड १७ लाख रूपैयाँ आर्जन गरेको आधारमा अन्यको पनि नाफा भएको बताइन्छ । अघिल्लो वर्षको सोही अवधिमा ती होटलहरूले १ अर्ब २५ करोड ७० लाख रूपैयाँ खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटलले नोक्सानी बेहोरेको छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरि हिल्सको नाफा शतप्रतिशत बढेको छ ।
गत वर्ष यी होटल कम्पनीहरूको कुल आम्दानी ६ अर्ब ९८ करोड ६४ लाख रूपैयाँ गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ९५ करोड ७ लाख रूपैयाँ कुल आम्दानी गरेका थिए । गत वर्ष सबभन्दा बढी नाफा गरेको चन्द्रागिरि हिल्सको खुद नाफा ९९.३९ प्रतिशतले बढेर २२ करोड ३३ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष उसको खुद नाफा ११ करोड २० लाख रूपैयाँ थियो । गत वर्ष नेपाल आउने पर्यटकहरू ६.८८ प्रतिशत बढेर ७ लाख ६८ हजार पुगेका थिए । अघिल्लो वर्षको सोही अवधिमा करिब ७ लाख १८ हजार पर्यटकहरूको आवागमन भएको सरकारी तथ्यांक छ । त्यस्तै कालिञ्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रूपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै केही वर्ष अघि मात्र सञ्चालनमा आएको सिटी होटलले भने खर्च घटाउँदै लगेको छ । अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रूपैयाँ नोक्सानी बेहोरेको उक्त होटलले गत वर्ष २० करोड ४७ लाख रूपैयाँ नोक्सानी बेहोरेको छ । पाँचतारे सोल्टी होटलको गत वर्ष खुद नाफा ८.३० प्रतिशत बढेर ६० करोड १० लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ४९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।