सरकार भन्छ–स्वदेशमै कही गरौं तर युवाको ध्यान विदेशतिरै

टुरिजमफेस
काठमाडौं । सरकारले युवालाई स्वदेशमै उद्यमशीलता जस्ता काम गर्न भन्दै आए पनि युवाहरूको चासो वैदेशिक रोजगारीमै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । साउनमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स गएका छन् । त्यहाँ १७ हजार ५४१ गएको विभागले जनाएको छ । श्रम स्वीकृति लिएर साउदी अरेबियामा ११ हजार ८०९ र कतार ११ हजार ७८५ गएका छन् ।
त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । साउनमा मलेसियामा १ हजार ३४४ जना गएका छन् । यो कोभिड–१९ पछि अहिलेसम्मै ठूलो गिरावट हो । अघिल्लो आर्थिक वर्षको साउनमा ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए ।