अगस्त महिनामा साढे ७२ हजार पर्यटक भित्रिँदा कुन देशका कति ?
Tourist
टुरिजमफेस
काठमाडौं । सन् २०२४ को अगस्त महिनामा विभिन्न मुलुकबाट ७२ हजार ७ सय १९ पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२३ को अगस्त महिनाको तुलनामा यो वर्षको सोही महिनामा नेपाल आएका पर्यटकको संख्या ८ दशमलव २९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष (सन् २०२३) को अगस्तमा ६७ हजार १ सय ५३ पर्यटक नेपाल आएका थिए । यस्तै, सन् २०२२ को अगस्तमा ४१ हजार ३ सय ४ पर्यटक आएका थिए । यद्यपि कोरोनाअघि सन् २०१९ को अगस्तमा भने ९४ हजार ७ सय ४९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यसपालि सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । अगस्तमा भारतबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार ८ सय ३२ छ । त्यस्तै, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलंकाबाट ४ हजार ८ सय ५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । योसँगै सन् २०२४ को ८ महिना (जनवरीदेखि अगस्तसम्म) नेपाल घुम्न आउने पर्यटकको संख्या ७ लाख २ हजार ३ सय ३४ पुगेको छ । जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४ सय २६, मार्चमा एक लाख २८ हजार १ सय ६७, अप्रिलमा एक लाख ११ हजार ३ सय ७६ र मे मा ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, जुन महिनामा ७६ हजार ७ सय ३६, जुलाई महिनामा ६४ हजार ५ सय ९९ र अगस्तमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका छन् । सरकारले वर्षमा १५ लाख बढी पर्यटन नेपाल भित्र्याउने लक्ष्य राखे पनि पर्यटकको संख्यामा त्यति धेरै सुधार हुन सकेको छैन । खासगरी पर्याप्त भौतिक पूर्वाधारको अभावले पर्यटकलाई समस्या परेको गुनासो रहँदै आएको छ ।
Tourist
