वैदेशिक रोजगारीको क्रममा मृत्यु हुनेका परिवारले १० लाख रूपैयाँ पाउने
टुरिजमफेस
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारले अबदेखि १० लाख रूपैयाँ पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायताको रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
नियमावली संशोधन भएसँगै वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका परिवारले १० लाख रूपैयाँ आर्थिक सहायता पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए । यस्तो आर्थिक सहायता वैदेशिक रोजगार बोर्डमार्फत वितरण हुने गर्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारले बोर्डमा जम्मा गरेको रकम बढेर झन्डै ६ अर्ब पुगेपछि आर्थिक सहायता वृद्धि गर्नुपर्ने आवाज उठ्दै आएको थियो । खाडी मुलुक र मलेसियाको रोजगारीमा जाने श्रमिकले बोर्डको कल्याणकारी कोषमा एक हजार पाँच सय र त्यस्तै जापान, कोरिया, इजरायललगायतका मुलुक जाने श्रमिकले दुई हजार पाँच सय रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिन सक्छन् । अंगभंग हुँदा पाउने आर्थिक सहायता भने वृद्धि गरिएको छैन । कामको दौरानमा अंगभंग भएमा श्रमिकले बोर्डबाट सात लाख रूपैयाँसम्म आर्थिक सहायता पाउँछन् ।